निर्मल माविको स्वास्थ्य शिविरमा १०७५ ले लिए सेवा
हेटौंडा-१९ मा रहेको निर्मल माविको स्वर्ण महोत्सवका अवसरमा आयोजित स्वास्थ्य शिविरमा एक हजार ७५ जनाले सेवा लिएका छन् । विद्यालयको स्वर्ण महोत्सव अन्तर्गत बिहीबार स्वास्थ्य शिविरको आयोजना भएको हो ।शिविरमा आँखा, हाडजोर्नी, नाक कान घाँटी, छाला, बालरोग लगायतको जाँच गरिएको थियो । स्वर्ण महोत्सव अन्तर्गतको स्वास्थ्य समिति संयोजक विष्णु थापाको संयोजकत्व एवम् विद्यालयका अध्यक्ष अमृत ओलीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान संघीय सांसद महेश बर्तौलाको प्रमुख आतिथ्यता रहेको थियो । आँखा परीक्षण शिबिरलाई किवानिज क्लव अफ मकवानपुर, सामुदायिक आँखा अस्पताल हेटौंडाले सहकार्य गरेको थियो । स्वास्थ्य शिविरमा डा. प्रशान्त बिडारी नेतृत्वको १२ जना विशेष चिकित्सकको टोलीले स्वास्थ्य जाँच गरेका थिए ।
स्वास्थ्य शिविरमा आउने बिरामीलाई स्थानीय बोर्डिङले यातायातको व्यवस्था गरेका थिए । उपमहानगरपालिकाकै भूभाग भएपनि ग्रामीण भेग भएकोले सर्वसाधारणको सहजताको लागि स्वास्थ्य शिविरको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक प्रवोध बिडारीले जानकारी दिए । बिरामीलाई आवश्यक औषधि निशुल्क प्रदान गरिएको थियो । बिहीबारै कार्यक्रमस्थलमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा ५३ जनाले रक्तदान गरेका थिए । विद्यालयको ५० औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदानमा ५३ जनाले रक्तदानगरेको प्रधानाध्यापक बिडारीले बताए ।
नगरस्तरीय हाजिरीजवाफमा तुल्सीमेहर प्रथम
निर्मल माविले स्वर्ण महोत्सवको अवसरमा आयोजनागरेको नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा तुल्सीमेहर मेमोरियल इङ्लिस आवासीय मावि प्रथम भएको छ । सहभागी ९ वटा विद्यालयलाई उछिन्दै तुल्सीमेहर प्रथम भएको हो । प्रतियोगितामा सिद्धार्थ मावि द्वितीय, सन्साइन इङ्लिस बोर्डिङ स्कुल तृतीय र अरनिको आधारभूत विद्यालय हेटौंडा–१९ सान्त्वना भयो ।
हाजिरीजवाफ प्रतियोगितामा प्रथम, द्वितीय,तृतीय र सान्त्वना हुनेले क्रमशः १५ हजार, १० हजार, ६ हजार र ४ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । विद्यार्थीको बौद्धिक क्षमता विकास गर्ने उद्देश्यका साथ स्वर्ण महोत्सवमा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओलीले जानकारी दिए । स्वर्ण महोत्सवको अवसरमा विद्यार्थी र शिक्षक लक्षित कार्यक्रम र खेलकुदका गतिविधि साथै अन्य विभिन्न रचनात्मक कार्यक्रमहरुको आयोजना भैरहेको छ ।







