यसवर्ष बागमती प्रदेशमा धानबाली उत्पादनमा सामान्य बृद्धि

चार लाख ५१ हजार मेट्रिकटन धान उत्पादन
साझाकुरा
२०८२ पुष १३, आईतवार ०९:१५

हेटौंडा-बागमती प्रदेशका जिल्लामा यसवर्ष धानबाली उत्पादनमा सामान्य वृद्धि भएको छ । बागमती प्रदेश कृषि विकास निर्देशनालयका अनुसार बागमती प्रदेशका जिल्लामा अघिल्लो वर्षको तुलनामा यसवर्ष धान उत्पादनमा शून्य दशमलव २५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको तुलनामा यसवर्ष बाढीपहिरोको प्रभाव कम परेको र रोगकीराको प्रकोप पनि कम भएकाले धान उत्पादनमा वृद्धि भएको बागमती प्रदेशको कृषि विकास निर्देशानलयका सूचनाअधिकारी तथा कृषि अर्थविज्ञ नवीन कुँवरले जानकारी दिएका छन् । सूचना अधिकारी कुँवरकाअनुसार बागमती प्रदेशमा चालु आर्थिक वर्ष २०८२÷८३ मा कूल एक लाख आठ हजार ८२० हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर ४ दशमलव १५ मेट्रिकटनका दरले चार लाख ५१ हजार ७८ मेट्रिकटन धान उत्पादन भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा कूल एक लाख पाँच हजार ४१५ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकोमा प्रतिहेक्टर तीन दशमलव ८७ मेट्रिकटनका दरले चार लाख आठ हजार ३१६ मेट्रिकटन धान उत्पादन भएको थियो । यस्तै आर्थिक वर्ष २०८०÷८१ मा एक लाख नौ हजार १५१ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा चार लाख १३ हजार ९८८ मेट्रिकटन धान उत्पादन भएको थियो । सूचनाअधिकारी कुँवरका अनुसार बागमती प्रदेशको सबैभन्दा बढी धानखेती हुने चितवनमा यसवर्ष २७ हजार ३२५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव ९६ मेट्रिकटनका दरले एक लाख ३५ हजार ५३२ मेट्रिकटन धान उत्पादन भएको छ ।

यस्तै नुवाकोटमा ११ हजार ६१५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव १३ प्रतिशतका दरले ४७ हजार ९७८ मेट्रिकटन र धादिङमा ११ हजार १५९ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव २३ प्रतिशतका दरले ४७ हजार २०३ मेट्रिकटन धान यसवर्ष उत्पादन भएको उनले बताए । उपत्यकाको काठमाडौंमा यसवर्ष तीन हजार ६०० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव ९८ प्रतिशतका दरले १७ हजार ९२८ मेट्रिकटन, ललितपुरमा चार हजार १२८ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव ७८ प्रतिशतका दरले १९ हजार सात सय ३२ मेट्रिकटन र भक्तपुरमा दुई हजार ६९७ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर पाँच दशमलव ५३ प्रतिशतका दरले १४ हजार ९१४ मेट्रिकटन धान उत्पादन भएको सूचना अधिकारी कुँवरले बताए ।

यसवर्ष मकवानपुरमा आठ हजार ४९३ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ८८ प्रतिशतका दरले ३२ हजार नौ सय ५१ मेट्रिकटन, सिन्धुलीमा १२ हजार ३८५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ७६ प्रतिशतका दरले ४६ हजार ५६८ मेट्रिकटन, काभ्रेमा आठ हजार १९८ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव २१ प्रतिशतका दरले ३४ हजार ५१४ मेट्रिकटन, रामेछापमा सात हजार ४६६ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर दुई दशमलव ६९ प्रतिशतका दरले २० हजार ८४ मेट्रिकटन र सिन्धुपाल्चोकमा सात हजार ९०० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ०३ प्रतिशतका दरले २३ हजार ९३७ मेट्रिकटन धान उत्पादन भएको जनाएको छ ।

दोलखामा दुई हजार ७५८ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर दुई दशमलव ६५ प्रतिशतका दरले सात हजार ३०८ मेट्रिकटन ररसुवा जिल्लामा एक हजार ९५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर दुई दशमलव २२ प्रतिशतका दरले दुई हजार ४३१ मेट्रिकटन धान उत्पादन भएको उनले जानकारी दिए । समयमा वर्षा र रोगकीराको प्रकोप कम भएकाले यसवर्ष धान उत्पादन दर बढेको सूचना अधिकारी कुँवरको भनाइ छ । अघिल्लो वर्ष २०८१ असोज ११ र १२ को वर्षा र बाढीपहिरोका कारण धानबालीमा क्षति पुगेकाले अघिल्लो वर्ष धान उत्पादनमा एक दशमलव ३७ प्रतिशतले ह्रास आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*