जेसीआई हेटौंडा, पराजुलीको प्यानल नै नेतृत्वमा
हेटौंडा- जेसीआई हेटौंडा वर्ष २०२६ को नेतृत्वका लागि भएको निर्वाचनमा सन्तोष पराजुली अध्यक्ष पदमा विजयी भएका छन् ।शनिबार हेटौंडामा सम्पन्न शाखाको अधिवेशनमा आफ्ना प्रतिस्पर्धी जीवन ढकाललाई पराजित गर्दै पराजुली विजयी भएका हुन् । कुल १ सय ८७ मत खसेको निर्वाचनमा पराजुलीले १ सय ७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी ढकालले ७८ मत ल्याए ।
खसेको मतमध्ये २ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षसँगै पराजुलीको प्यानल नै नेतृत्वमा आएको छ । उनको प्यानलबाट कार्यकारिणी उपाध्यक्षका उम्मेदवार संजयकुमार न्यौपाने र विपिन ताम्राकारसहित उपाध्यक्षका उम्मेदवार विवेक बानियाँ, अशोक सिंह, विनोद वाग्ले र सृजनराज बज्राचार्य निर्विरोध निर्वाचित भएका छन् ।
विजयी भएपछि नवनिर्वाचित अध्यक्ष पराजुलीले जेसीआईको मर्म अनुसार युवाको व्यक्तित्व र नेतृत्व विकासमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जेसीआई हेटौंडालाई थप उचाइमा पु¥याउन सबै पक्षलाई समेटेर अघि बढ्ने बताएका छन् । जेसीआई हेटौंडा युवाको नेतृत्व तथा व्यक्तित्व विकासमा सक्रिय संस्था हो, जहाँ हरेक वर्ष लोकतान्त्रिक पद्धतिबाट नयाँ नेतृत्व चयन गर्ने परम्परा रहेको छ ।







