रानी सामुदायिक वनको साधारणसभा सम्पन्न
हेटौंडा- सर्वमान्य गणेशमान सिंह वन संरक्षण प्रथम पुरस्कार २०५७ बाट सम्मानित रानी सामुदायिक वन उपभोक्ता समूह चौघडाको २९ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँको प्रमुखआतिथ्यता एवम् समूहका अध्यक्ष केशव धितालको सभाध्यक्षतामा साधारणसभा भएको हो । साधारण सभामा समूहका अध्यक्ष धितालले संस्थागत प्रतिवेदन, सचिव अमुना सापकोटाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष गोमा लामिछानेले आर्थिक वर्ष २०८१÷८२ को लेखापरीक्षण प्रतिवेदन र चालू आव २०८२÷८३ को लागि ७२ लाख २९ हजारको अनुमानित आयब्यय विवरण र लेखा समिति संयोजक राजकुमार फुँयालले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा ज्येष्ठ सदस्य ठूलीमाया पाख्रिन, पूर्णबहादुर राई, निवर्तमान अध्यक्ष विष्णुप्रसाद न्यौपाने, निर्वाचन समिति संयोजक अर्जुनप्रसाद चौलागाई, सदस्य रामहरि चौलागाई, साधुराम चौलागाई, वनअधिकृत हेमकुमार पाठकलाई सम्मानित गरिएको थियो । सञ्चारकर्मी मनोज देवकोटा, विद्यार्थी सौरभ सापकोटा र अनुष्का हुमागाई लगायत पुरस्कृत गरिएको थियो । साधारण सभामा हेटौंडा–६ का वडाअध्यक्ष विष्णुबहादुर दाहाल, मकवानपुरगढी–३ का वडाअध्यक्ष भागवत घिमिरे, हेटौंडा–६ का वडासदस्य विजय पौडेल, हेटौंडा–६ का निवर्तमान अध्यक्ष अर्जुनप्रसाद चौलागाई, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य रामहरि चौलागाई, जिल्ला अध्यक्ष साधुराम चौलागाई, स्थानीय महासंघ हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपानेको आतिथ्यता थियो ।
सव डिभिजन वन कार्यालय, हेटौंडाका वनअधिकृत बच्चुराम सुवेदी, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, न्यूरेनी चिसापानी वनका अध्यक्ष प्रकाश कार्की, चित्रेपानी सामुदायिक वनका अध्यक्ष भानुप्रताप बिडारी, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, कामधेनु सहकारीका अध्यक्ष उदय बिडारी लगायतको आतिथ्यता रहेको थियो । १ सय ३८ हेक्टर क्षेत्रफलमा फैलिएको यो सामुदायिक वनमा ८ सय ५० घरधुरी आवद्व रहेका छन । साधारण सभाले विभिन्न १४ वटा प्रस्ताव सर्वसम्मत पारित गरेको समूहका कार्यालय सचिव भीमसेन पौडेलले बताए ।







