सिद्धार्थ माविले स्वर्ण जयन्ती मनाउँदै

साझाकुरा
२०८२ पुष १३, आईतवार १२:३४

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयले स्थापनाको ५० औँ वर्षको अवसरमा स्वर्ण जयन्ती मनाउने भएको छ । आगामी माघ २ गतेदेखि ८ गतेसम्ममा विविध कार्यक्रमको आयोजना गरी स्वर्ण जयन्ती मनाउने भएको हो । स्वर्ण जयन्तीको तयारीको क्रममा विद्यालयले शनिबार विद्यालयको हलमा पूर्वविद्यार्थी, शिक्षक र कर्मचारीसँग छलफल गरेको छ । छलफलमा स्वर्ण जयन्ती समारोहमा विद्यालयसँग विगत र वर्तमानमा जोडिएका सबै पक्षलाई समेट्दै अपनत्व महशुस गर्ने गरी मनाउन र विद्यालयको भावी दीर्घकालीन योजनाको खाका बनाउन सहभागीहरुले सुझाएका थिए ।

पूर्वविद्यार्थी एवं बागमती प्रदेश सरकारका पूर्वमन्त्री एकालाल श्रेष्ठले सिद्धार्थ मावि यस क्षेत्रकै गौरवको शैक्षिक संस्था भएको भन्दै स्वर्ण जयन्ती समारोह स्मरणीय बनाउन सबैको सहयोग र सहकार्य आवश्यक भएको बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्याक परमानन्द सरोज कर्णले स्वर्ण जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

स्वर्ण जयन्ती आयोजक मूल समारोह समितिका संयोजक एवं हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय सञ्चालक समितिका पूर्वअध्यक्ष एवं नारायाणी यातायात व्यवसायी संघका अध्यक्ष हीरालाल श्रेष्ठ, पूर्वविद्यार्थी एवं मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, विद्यालयका सहायक प्रधानाध्यमक रामशरण अधिकारी, विद्यालयको पूर्वप्रधानाध्यपक मोहन शर्मालगायत पूर्वविद्यार्थी, पूर्वशिक्षक, पूर्वकर्मचारीले स्वर्ण जन्यती समारोह मनाउने सन्दर्भमा सुझाव सहित धारणा राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*