राष्ट्रियसभामा दुई जना सदस्यको लागि निर्वाचन हुँदै

राष्ट्रियसभा चुनावका लागि हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
साझाकुरा
२०८२ पुष १७, बिहीबार ११:४९

हेटौंडा, १६ पुस÷माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रदेश निर्वाचन कार्यालयमै राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय राखिएको हो । कार्यालयको बुधबार जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत गीता श्रेष्ठले उद्घाटन गरेकी हुन् ।

उद्घाटनसँगै उनले निर्वाचन अधिकृतको पदभार ग्रहण गरिन् । कार्यालय स्थापना भएसँगै राष्ट्रियसभा निर्वाचनको औपचारिक प्रक्रिया सुरु भएको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिएका छन् । उनका अनुसार बागमती प्रदेशमा दुईजना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ । तीमध्ये एकजना महिला र एकजना अन्य समूहबाट निर्वाचित हुनेछन् ।

हाल बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य रहेका तत्कालीन नेकपा (माओवादी केन्द्र) की गंगाकुमारी बेलवासे र तत्कालीन नेकपा एकीकृत (समाजवादी) का बेदुराम भुषालको पदावधि २०८२ फागुनबाट सकिन लागेको छ । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार बागमती प्रदेशसभाका एक सय १० जना सदस्य र प्रदेशका १३ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख २ सय ३८ जना गरी
कुल ३ सय ४८ जना मतदाता रहेका छन् ।

मतभारको हिसाबले स्थानीय तहका प्रमुख–उपप्रमुखको कुल मतभार ४ हजार ५ सय २२ र प्रदेशसभा सदस्यको मतभार ५ हजार ८ सय ३० गरी जम्मा १० हजार ३ सय ५२ मतभार रहेको छ । निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिका–४ स्थित भूटनदेवी माध्यमिक विद्यालयलाई मतदानस्थल तोकिएको छ । जहाँ, दुईवटा मतदान केन्द्र रहनेछन् । विद्यालयको ‘बी’ ब्लकमा मतदान हुनेछ भने प्राविधिक भवनमा मतगणना गरिने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । बुधबार नै मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलगायत सुरक्षा निकायका प्रमुखले मतदानस्थलको निरीक्षण गरेका छन् ।

निर्वाचनका लागि प्रतिमतदान केन्द्र ८ जनाको दरले १६ जना कर्मचारी खटाइने जानकारी दिइएको छ । मतदान प्रक्रियाअनुसार प्रदेशसभा सदस्यले सेतो कागजमा हरियो रङको मसिले विवरण तथा चिन्ह उल्लेख गर्नेछन् भने स्थानीय तहका प्रतिनिधिले रातो रङको मसिले मतदान गर्नेछन् । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकेको छ । निर्वाचन कार्यतालिकाअनुसार पौष १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ ।

सोहीदिन ११ बजेदेखि पौष २० गते अपरान्ह ४ बजेसम्म दाबी विरोधका उजुरी दिन सकिनेछ । पौष २१ र २२ गते उजुरीमाथि छानबीन हुनेछ भने पौष २२ गते दिउँसो ३ देखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । पौष २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, सोही दिन ३ देखि ४ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ । पौष २४ गते उम्मेदवारविरुद्ध उजुरी, पौष २५ र २६ गते उजुरी तथा मनोनयनपत्रमाथि जाँचबुझ गरिनेछ । पौष २६ गते दिउँसो ३ बजे उम्मेदवारको नामावली प्रकाशन, पौष २७ गते नाम फिर्ता र अन्तिम नामावली प्रकाशन तथा पौष २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

कांग्रेसको मतभार धेरैबागमती प्रदेशको कुल मतदाता ११० प्रदेशसभा सदस्यको मतभार ५ हजार ८३० हुन आउँछ भने स्थानीय तहका २३७ पदाधिकारीको मतभार ४ हजार ५०३ हुन्छ । यसरी बागमती प्रदेशअन्तर्गत राष्ट्रियसभा निर्वाचनमा मतदाताको कुल मतभार १० हजार ३३३ हुन्छ ।बागमती प्रदेशमा नेपाली कांग्रेसको मतभार अन्य दलको तुलनामा धेरै छ । कांग्रेससँग प्रदेशसभामा ३७ सिट छ । स्थानीय तहतर्फ कांग्रेसका १०८ प्रमुख तथा उपप्रमुख रहेकोमा एकजना मतदानमा सहभागी हुन नपाउने भएकाले १०७ जनामात्र मतदाता हुनेछन् । प्रदेशसभातर्फ १ हजार ९६१ र स्थानीय तहतर्फ २ हजार ३३ गरी कांग्रेसको कुल मतभार ३ हजार ९९४ हुन आउँछ ।

बागमती प्रदेशमा नेकपा एमाले २ हजार ५७१ मतभारका साथ दोस्रो स्थानमा छ भने नेकपा माओवादी केन्द्रको २ हजार १९६ मतभार र नेकपा एकीकृत समाजवादीको ५४२ मतभार छ । हाल माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएको अवस्थामा यी दुवै दलको मतभार २ हजार ७३८ हुन आउँछ ।प्रदेशसभामा १३ सिट भएको राप्रपाको कुल मतभार ७०८ मात्र छ भने नेमकिपाको १९७, हाम्रो नेपाली पार्टीको १०६ र स्वतन्त्र उम्मेदवारको १९ मतभार छ । ५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक २ वर्षमा एकतिहाइ सदस्यको पदावधि सकिने र उनीहरुको ठाउँमा नयाँ चयन हुने व्यवस्था छ ।

सोही क्रममा अहिले राष्ट्रियसभाका १९ सदस्य पदरिक्त हुन लागेको हो । तीमध्ये १८ जना निर्वाचनका माध्यमबाट राष्ट्रियसभा सदस्य भएका हुन् भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका हुन् । सोहीअनुसार रिक्त हुने पदमा पूर्तिका लागि १८ जना निर्वाचनका माध्यमबाट र एक जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*