नेपाल संवत् नेपालीको एकमात्र मौलिक संवतः प्रदेशप्रमुख देवकोटा
हेटौंडा- बागमती प्रदेशका प्रदेशप्रमुख दीपक प्रकाश देवकोटाले नेपाल संवत् नेपाल र सबै नेपालीको एकमात्र मौलिक संवत् भएकाले यसलाई सबैले आत्मसाथ गरेर जानुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय विभूति शखधर साख्वाः प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको नेपाल संवत् र शंखधर साख्वाः पुस्तक विमोचन कार्यक्रममा उनले राष्ट्रिय विभूति शंखधर साख्वाः र नेपाल संवत् दुवै राष्ट्रका गौरव भएकाले यसलाई लिपिबद्ध गर्दै जानु आवश्यक रहेको बताएका हुन् । ओझेलमा परेको ऐतिहासिक व्यक्तित्व साख्वाः र नेपाल संवतलाई उजागर गर्दै संरक्षण गर्न निरन्तर लागिरहनु गौरवको विषय भएको बताउँदै उनले यसमा मध्यपुरथिमिको नागरिक समाज, अभियन्ताको भूमिका महत्वपूर्ण रहेको चर्चा गरे ।
प्रदेशप्रमुख देवकोटाले मस्तिष्क र हृदयको संगम रहेको दुर्लभ मानवका रुपमा साख्वालाई लिन सकिने उल्लेख गर्दै कुनै पनि राजनीतिक भूमिकामा आबद्ध नरहेर पनि समाजवाद, सर्वहारावादका क्रान्तिका नायकका रुपमा आफूलाई उभ्याउँदै उनले गरिब किसानको ऋणमोचन गरी सर्वसाधारणको पीडामा मलम बन्नुभएको बताए । सुसंस्कृति र सुशासन युक्त समाज निर्माणको प्रेरणाकारुपमा साख्वालाई लिन सकिने उनको भनाइ थियो । उनले भने, ‘नेपाल संवतलाई नेवारी संवतको रुपमा बुझ्नु इतिहासको अल्पज्ञान हो, नेपाल संवत् सबै नेपाल र नेपालीको मौलिक संवत् हो, सभ्य, सुसंस्कृत र संवृद्ध देश निर्माणमा साख्वाबाट धेरै सिक्नु जरुरी छ ।’
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भाषा, कृति, कला, संस्कृतिको संरक्षण एवं प्रवद्र्धनमा साख्वाःको भूमिका महत्वपूर्ण रहेको चर्चा गरेका थिए । मन्त्री थापामगरले भने, ‘प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजमा ल्याउन र सरकारी कार्यालयमा प्रयोग गर्न ऐन बनाएर सुरुवात गरेका छौँ । सरकारी कामकाजमा प्रयोगमा ल्याइसकेका छौँ ।’ हरेक जातजातिका भाषा, कला, संस्कृतिको संरक्षण गर्न प्रदेश सरकारले प्रतिष्ठानका लागि बजेट विनियोजन गरेको बताउँदै उनले पुस्तकालय सञ्चालन र अन्य शीर्षकमा प्रदेश सरकारले बजेटका विनियोजन गरेको उल्लेख गरे ।
उपत्यकामा मात्र नभई विभिन्न जिल्लामा बसाइ सरेर गएका नेवारको भाषा, कला, संस्कृतिको क्षेत्रमा संरक्षण र विकासमा लाग्नु आवश्यक रहेको उनले बताए । कार्यक्रममा नेपाल भाषा एकेडमीका चान्स्लर मल्लके. सुन्दर, मध्यपुरथिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठ, भाषाविद् सुरेश मानन्धर, प्राडा पुरुषोत्तमलोचन श्रेष्ठलगायतले शंखधर साख्वाले पु¥याएको योगदानको चर्चा गरे । प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति ज्ञानराम श्रेष्ठले नेपाल संवत् र शंखधर साख्वाको योगदानलाई देशव्यापी फैलाउन प्रकाशित गरिएको पुस्तकको प्रकाशन गरेको बताए ।







