हेटौंडा र मनहरीमा दुई दिन विद्यालय बन्द हुने

साझाकुरा
२०८२ पुष १७, बिहीबार ११:५६

हेटौंडा-बढ्दो चिसोका कारण हेटौंडा उपमहानगरपालिकाले नगरक्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा २ दिन पठनपाठन बन्द गर्ने सूचना दिएको छ । शिक्षा विकास महाशाखा मार्फत् जारी सूचनाअनुसार चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने अवस्था देखिएकाले यस्तो निर्णय गरिएको हो । उपमहानगरपालिकाले विद्यालयलाई वार्षिक कार्यतालिकामा व्यवस्था गरिएको स्थानीय विदाबाट कट्टा हुने गरी जाडो विदा दिन आग्रह गरेको छ ।

सूचनाअनुसार यही पुस १७ र १८ गतेस २ दिन विद्यालयमा जाडो विदा लागू हुनेछ । नगरपालिकाले भौतिकरुपमा आवश्यक व्यवस्था मिलिसकेका विद्यालयले चाहेमा जाडो मौसममा पनि विद्यालय नियमितरुपमा सञ्चालन गर्न सक्ने व्यवस्था रहेको स्पष्ट पारेको छ ।

त्यसैगरी मनहरी गाउँपालिकाले पनि अत्यधिक चिसो र शीतलहरका कारण गाउँपालिकाभित्र सञ्चालित सम्पूर्ण विद्यालयमा दुईदिन विदा दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय, मनहरीले जारी गरेको सूचनाअनुसार पछिल्लो केही दिनदेखि निरन्तर बढ्दै गएको चिसो र शीतलहरले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्था देखिएको छ । साथै नियमित पठनपाठन सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकाले मिति २०८२ साल पौष १७ र १८ गते दुईदिन विद्यालय बन्द रहने जनाइएको छ ।

यो विदा वर्षेविदाबाट मिलान हुने गरी लागू गरिने सूचनामा उल्लेख गरिएको छ । यो निर्णय मनहरी गाउँपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत सबै विद्यालयमा लागू हुने गाउँपालिकाले स्पष्ट पारेको छ ।गाउँपालिकाले चिसोको प्रभावबाट विद्यार्थीलाई जोगाउन आवश्यक सावधानी अपनाउनसमेत अभिभावक तथा विद्यालय प्रशासनलाई आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*