नेपालमै पहिलोपटक माउन्टेन बाइक गाइड लाइसेन्स

साझाकुरा
२०८२ पुष १७, बिहीबार ११:५९

हेटौंडा- बागमती प्रदेश सरकारले नेपालमै पहिलोपटक माउन्टेन बाइक गाइडलाई लाइसेन्स (ईजाजतपत्र) वितरण गरेको छ । प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले २४ जना माउन्टेन बाइक गाइडलाई लाइसेन्स (ईजाजतपत्र) वितरण गरेका हुन् ।नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानबाट तालिम लिएका २४ जना माउन्टेन बाइक गाइडलाई ५ वर्षका लागि ईजाजतपत्र वितरण गरिएको प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले जानकारी दिएका छन् ।

साहसिक पर्यटनलाई व्यवस्थित, सुरक्षित र अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यसहित प्रदेशको पर्यटन ऐनमा भएको व्यवस्था अनुसार ईजाजतपत्र वितरण गरिएको उनले बताए । प्रदेशभित्र माउन्टेन बाइक रुटको पहिचान तथा प्रवद्र्धनसमेत अघि बढाइएको उनले बताए । प्रदेश सरकारले हिमाल, पहाड र ग्रामीण भूभागले भरिपूर्ण बागमती प्रदेशलाई माउन्टेन बाइकिङको प्रमुख गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य लिएको सचिव सुवेदीले बताए ।

उनकाअनुसार यसअघि कानुनी संरचना नहुँदा अनौपचारिकरुपमा सञ्चालन हुँदै आएको माउन्टेन बाइक गाइडिङलाई अब विधिसम्मत बनाइएको हो । ‘बागमती प्रदेशको भूगोल माउन्टेन बाइकिङका लागि अत्यन्त उपयुक्त छ । गाइड लाइसेन्समार्फत् सुरक्षा, गुणस्तर र उत्तरदायित्व सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय सहभागिता बढाउने हाम्रो लक्ष्य हो’ उनले बताए । प्रदेश सरकारकाअनुसार लाइसेन्स प्राप्त गाइडमार्फत सञ्चालन हुने माउन्टेन बाइकिङले पर्यटकको सुरक्षाका साथै प्रदेशको पर्यटन छविमा सुधार ल्याउने अपेक्षा गरिएको छ । यसले स्थानीय युवालाई रोजगारीको नयाँ अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।

काठमाडौं उपत्यका आसपास, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र धादिङ जस्ता जिल्लामा अन्तर्राष्ट्रियस्तरका माउन्टेन बाइक रुट विकासको सम्भावना रहेको छ । यी क्षेत्रलाई लक्षित गरी ट्रेल म्यापिङ, रुट वर्गीकरण र आवश्यक पूर्वाधार विकास तयारी प्रदेश सरकारले गरेको छ ।प्रदेश सरकारले आगामी दिनमा प्रदेशभित्र माउन्टेन बाइक रुट अन्वेषण गर्दै यसमा अन्तर्राष्ट्रिय स्तरको सहभागिता सुनिश्चितगर्ने योजना बनाएको छ । जसका लागि अन्तर्राष्ट्रिय माउन्टेन बाइक इभेन्ट आयोजना गर्ने, विदेशी टुर अपरेटरसँग सहकार्य बढाउने र बागमती प्रदेशलाई माउन्टेन बाइक फ्रेन्डली डेस्टिनेसनका रुपमा चिनाउने योजना बनाएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*