राक्सीराङमा हाटबजार सुरु
हेटौंडा-दुर्गम गाउँबस्तीका कृषिजन्य उत्पादनको प्रबद्र्धनका लागि मकवानपुरको राक्सिराङ गाउँपालिकाले पाक्षिक हाटबजार सुरु गरेको छ । हरेक वर्षझैँ यसवर्ष पनि जाडोयाममा हाटबजार सञ्चालनमा ल्याइएको हो । राक्सिराङ गाउँपालिका–५ चैनपुरमा स्थापना भएको हाटबजार स्टलमा पुस १५ गतेबाट सुरु भएको हाटबजार जेठ १५ गतेसम्म हरेक महिनाको १ र १५ गते सञ्चालन हुने राक्सिराङ गाउँपालिका कृषि विकास शाखाले जनाएको छ ।
कृषि विकास शाखाप्रमुख कृष्ण डुम्रेका अनुसार पहिलो दिनको हाटबजारमा १६ वटा स्थानीय उपजका स्टल सहभागी भएका थिए । राक्सिराङ गाउँपालिकामा उत्पादन भएका तरुल, पिँडालु, कोदो, फापर, गहत, मास, मस्याङ, रायोको साग, चिउरीबाट उत्पादित मह लगायतका घरेलु खाद्य सामग्री हाटबजारमा उपलब्ध छन् ।
हाटबजारको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले स्थानीय उत्पादनले रैथाने बाली जोगाउन महत्वपूर्ण भूमिका निर्बाह गर्ने बताएका छन् । कार्यक्रममा गाउँपालिका अध्यक्षराजकुमार मल्लले यो वर्षभरि नियमित र अर्गानिक खानेकुरा, फलफूल तथा तरकारी प्रदर्शन गर्ने किसान वा फर्मलाई प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार २५ हजार र तृतीय पुरस्कार १० हजार उपलब्ध गराइने घोषणा गरे । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीयअधिकृत सन्देश मास्के सहित विभिन्न राजनीतिक पार्टी, सहकारीलगायत प्रतिनिधिले शुभकामना ब्यक्त गरे ।







