परिवर्तनको लागि प्रहरी भवन जलाइनु दुभाग्र्यपूर्णः मुख्यमन्त्री बानियाँ

साझाकुरा
२०८२ पुष १७, बिहीबार १२:१४

हेटौंडा-बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजनीतिक परिवर्तनको लागि प्रहरी भवन जलाइनु दुभाग्र्यपूर्ण भएको बताएका छन् ।जनताको बीचमा आफ्नो एजेण्डा स्थापित गर्न खोज्दा विगतमा सशस्त्र जनयुद्ध र जेनजी आन्दोलनमा प्रहरी भवन सहित निजी सम्पत्ति माथि भएको आक्रमणले समाजलाई गलत दिशामा लैजाने उनले बताए । बुधबार इलाका प्रहरी कार्यालय खैरहनी, चितवनको नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले भविष्यमा त्यस्ता गतिविधि हुन नदिन राजनीतिक नेतृत्वले संकल्प गर्नुपर्ने बताएका छन् । दलहरुले आन्दोलन गर्दा प्रहरीले दमन नगर्ने बताउँदै उनले तीव्र आक्रोशलाई नियन्त्रण गर्न खोज्दा हुने झडप स्वाभाविक भएको उल्लेख गरे ।

मुख्यमन्त्री बानियाँले प्रहरी कुनै दल र व्यक्तिको नहुने भएकोले प्रहरीले गर्ने काममा राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने बताए । मुख्यमन्त्री बानियाँले प्रदेशमा सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सरकार प्रतिबद्ध रहेको बताए । जनतालाई सेवा दिने सवालमा प्रदेश सरकार गम्भीर ढंगले अघि बढेको उनले दाबी गरे । मुख्यमन्त्री बानियाँले भयरहित ढंगले जनता निर्वाचनमा सहभागी हुने वातावरण बनाउन संघीय सरकारलाई आग्रह गरेका छन् । जेनजी आन्दोलनको क्रममा लुटिएका हतियार, भागेका कैदीको कारण निर्वाचनमा जनता उत्साह पूर्वकरुपले सहभागी हुने वातावरण बनि नसकेको उनले बताए ।

मुख्यमन्त्री बानियाँले निर्वाचनको लागि वातावरण बनाउन प्रदेश सरकार संघीय सरकारसँग समन्वय गर्न तयार रहेको पनि उल्लेख गरे । मुख्यमन्त्री बानियाँले संविधानमा उल्लेख भएको सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्तलाई स्वीकार गर्दै प्रहरी प्रदेशको मातहात आइनसक्दा पनि प्रदेश सरकारले प्रहरी भवन निर्माण गरिरहेको बताए । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी, नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, बागमती प्रदेश प्रहरीप्रमुख अरुण पौडेललगायतको उपस्थिति रहेको थियो । प्रदेश सरकारबाट विनियोजित ५ करोड ८५ लाखबाट कार्यालय भवन निर्माण गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*