औद्योगिक कर्जा बागमती प्रदेश केन्द्रित : गैरखाद्य वस्तु उत्पादनमा लगानी उच्च

साझाकुरा
२०८२ पुष १९, शनिबार १०:४३

हेटौंडा-बैंक तथा वित्तीय संस्थाको स्रोतमा सबैभन्दा धेरै हिस्सा बागमती प्रदेशको रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बागमती प्रदेश निक्षेप संकलन तथा कर्जा लगानीमा अन्य प्रदेशको तुलनामा सबैभन्दा माथिल्लो स्थानमा देखिएको हो । केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०८१÷८२ सम्म ५५ खर्ब ८६ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाले ७२ खर्ब ९५ अर्ब ६९ करोड कर्जा लगानी गरेका छन् ।

गत आर्थिक वर्ष कर्जा निक्षेप अनुपात मधेश प्रदेशमा सबैभन्दा बढी १२१ दशमलब ६ प्रतिशत र गण्डकीमा सबैभन्दा कम ५८ दशमलब ३ प्रतिशत रहेको केन्द्रीय बैंकको अध्ययनले देखाएको छ । गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा १६ खर्ब ९९ अर्ब ४९ करोड पुगेको छ । वित्तीय क्षेत्रको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा अंश ३० दशमलब ४२ प्रतिशत हो ।

औद्योगिक कर्जामध्ये सबैभन्दा बढी गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा ३५ दशमलब २७ प्रतिशत, विद्युत, ग्यास तथा पानीसम्बन्धी उद्योगमा २६ दशमलब २६, कृषि, वन तथा पेयपदार्थसम्बन्धी उद्योगमा २१ दशमलब ८५, निर्माणसम्बन्धी उद्योगमा ११ दशमलब ७०, धातु उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक सम्बन्धी उद्योगमा ४ दशमलब २३ र सबैभन्दा कम खानीसम्बन्धी उद्योगमा ० दशमलब ६९ प्रतिशत कर्जा प्रवाह भएको केन्द्रीय बैंकले जनाएको छ ।

औद्योगिक कर्जामध्ये बागमतीमा सबैभन्दा बढी १२ खर्ब ८० अर्ब ९७ करोड कर्जा लगानी छ । त्यसपछि कोशी र लुम्बिनीको हिस्सा क्रमशः दोस्रो र तेस्रो क्रममा छ । औद्योगिक कर्जामा कोशीमा प्रवाहित कर्जाको हिस्सा ९ दशमलब ५ प्रतिशत, मधेश ७ दशमलब ५, बागमती ७१ दशमलब ३, गण्डकी १ दशमलब ६, लुिम्बनी ८ दशमलब ३, कर्णाली ० दशमलब २ र सुदूरपश्चिमको १ दशमलब ६ प्रतिशत छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार २०८१÷८२ मा नेपालको आर्थिक वृिद्धदर उपभोक्ता मूल्यमा ४ दशमलब ६ र प्रचलित मूल्यमा ४ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।

२०८१÷८२ को कुल गार्हस्थउत्पादन (जीडीपी) मा कृषि, उद्योग र सेवाक्षेत्रको योगदान क्रमशः २५ दशमलब २, १२ दशमलब ८ र ६२ दशमलब ० प्रतिशत रहने प्रारम्भिक अनुमान छ । मुलुकको जीडीपीमा बागमतीको हिस्सा सबैभन्दा धेरै ३६ दशमलब ५ प्रतिशत छ भने कोशी १५ दशमलब ९ र कर्णालीको हिस्सा भने सबैभन्दा कम ४ दशमलब २ प्रतिशत छ । २०८१÷८२ मा उद्योगको औसत क्षमता उपयोग ४४ दशमलब ५ प्रतिशत छ । २०८०÷८१ मा यस्तो क्षमता उपयोग ४८ दशमलब ३ प्रतिशत थियो । २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामा औद्योगिक क्षेत्रको कर्जा अंश ३० दशमलब ४२ प्रतिशत छ ।

आर्थिक वर्ष २०८१÷८२ मा १ हजार २ सय ३५ किलोमिटर कालोपत्र सडक, २ सय ८७ किलोमिटर ग्राभेल, ३ सय १ किलोमिटर नयाँ ट्रयाक निर्माण भएको छ भने ३ सय ७० किलोमिटर सडक मर्मत भएको केन्द्रीय बैंकले जनाएको छ । त्यस्तै कुल वस्तु निर्यात ८१ दशमलब ८ प्रतिशतले वृद्धिभई २ खर्ब ७७ अर्ब ३ करोड पुगेको छ भने आयात १३.३ प्रतिशतले वृद्धि भई १८ खर्ब ४ अर्ब १२ करोड पुगेको छ । चालु आर्थिक वर्ष २०८२÷८३ मा मुद्रास्फीतिको चाप कम छ । विश्वव्यापी इन्धन तथा खाद्यवस्तुको मूल्यमा गिरावट आएका कारण मुद्रास्फीति न्यून भएको केन्द्रीय बैंकले जनाएको छ ।

त्यसैगरी ब्याजदर घट्दो अवस्थामा, जलविद्युत् उत्पादनमा उल्लेख्य वृद्धि, निर्यात र विप्रेषण आप्रवाहमा उच्च सुधार र निर्माण तथा उत्पादनमूलक उद्योगक्षेत्रमा देखिाएको सुधारले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ । मौद्रिक सहजताका कारण आर्थिक वृद्धि औसतभन्दा बढी हुने देखिन्छ । २०८२÷८३ मा आर्थिक क्रियाकलाप अघिल्लो वर्षको तुलनामा सकारात्मक हुने अनुमान छ । अर्थतन्त्रमा तरलता पर्याप्त रहेको, सरकारले सुशासन प्रवद्र्धन गर्दै पुनर्निर्माणकार्य अघि बढाएको, साना र तयारी नपुगेका आयोजनामा बजेट स्थगन गर्दै परियोजना प्राथमिकीकरण गरिएको लगायत कार्यले अर्थतन्त्र चलायमान भई आर्थिक गतिविधि बढ्ने अनुमान केन्द्रीय बैंकको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*