इतिहास, प्रकृति र सम्भावनाको संगमःचित्लाङ हिलस्टेसनतर्फ बागमती प्रदेशको नयाँयात्रा

साझाकुरा
२०८२ पुष १९, शनिबार १०:४७

हेटौंडा- इतिहास बोकेको, प्रकृतिले सजिएको र संस्कृतिले समृद्ध बागमती प्रदेशको गौरव–मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङ । काठमाडौंको कुल जनसंख्याको एक प्रतिशत मात्र मानिस यहाँ भित्रिए पनि स्थानीय अर्थतन्त्रमा ठूलो उथलपुथल ल्याउन सक्ने सम्भावना बोकेको यो वडा आजपनि रहस्य, सौन्दर्य र इतिहासको संगम बनेर उभिएको छ ।राणाकालदेखि दार्शनिक, साधुसन्त र व्यापारीसम्मको यात्रीको गन्तव्यमार्ग बनेको चित्लाङ केवल एउटा पर्यटकीय गाउँ मात्र होइन, नेपालको समृद्ध इतिहास बोकेको जीवन्त संग्रहालय हो । चित्लाङ–मार्खु–कुलेखानी–भीमफेदी हुँदै हेटौंडा र वीरगञ्ज–रक्सौल जोड्ने यो मार्ग कुनै समय भारत र नेपालको दक्षिणी भूभागलाई काठमाडौं उपत्यकासँग जोड्ने प्रमुख व्यापारिक नाका थियो ।

खाद्यान्न, लत्ताकपडा ओसारपसारदेखि पशुपतिनाथ दर्शनका लागि आउने साधुसन्तको सांस्कृतिक यात्रासम्म यो बाटो निरन्तर चलायमान रहन्थ्यो । जुनसुकैबेला मानिस आवतजावत गर्ने भएकाले चित्लाङमा चौबीसै घण्टा पसल खुला रहने चहलपहल थियो ।त्रिभुवन राजपथ निर्माण हुनुअघि चित्लाङ नै भारत–काठमाडौँ जोड्ने एकमात्र ‘पैदलमार्ग’ थियो । सवारीसाधनलाई मानिसले बोकेर ओहोरदोहोर गरिन्थ्यो । संसारमै विरलै पाइने यो ऐतिहासिक तथ्य चित्लाङको विशिष्ट पहिचान हो । त्यतिबेला श्री ३ राणा र श्री ५ सरकारका लागि छुट्टै बासस्थान निर्माण गरिनु चित्लाङको रणनीतिक र ऐतिहासिक महत्वको प्रमाण हो । आजपनि चित्लाङका काठ र ढुंगामा कुँदिएका मन्दिरहरु, कलात्मक पाटीपौवा, ढुंगेधारा र शताब्दीयौँ पुराना शिलालेखहरुले यहाँ प्राचीन सभ्यताको संकेत देखिन्छन् ।

माझगाउँमा रहेको अशोककालीन चैत्य (ई.पू.२७३)(नेवार भाषामा चिभाःद्य) यसक्षेत्रको ऐतिहासिक गहिराइको ज्वलन्त प्रमाण हो । टुपिखेल, कलाँटु, भञ्ज्याङ, कपुगाउँलगायत स्थानमा समुदायको सक्रियतामा निर्माण गरिएका चैत्य, साथै स्वच्छन्दभैरव, तलेजुभवानी, महालक्ष्मी, चम्पाकेश्वर महादेव, त्रिलि·ेश्वर महादेव, कालीदेवी, जलदेवी, लक्ष्मीनारायणलगायत मन्दिरले चित्लाङलाई धार्मिक–सांस्कृतिक केन्द्रको रुपमा चिनाउँछन् । हरियाली जंगलले घेरिएको चित्लाङमा १६० भन्दा बढी प्रजातिका चरा तथा वन्यजन्तु पाइन्छन् ।

एक हजारभन्दा बढी स्याउका रुख रहेको विशाल एप्पल गार्डेन र त्यसबीच बनेका कटेजहरुले पर्यटकलाई प्रकृतिसँग नजिकको अनुभव गराउँछन् । अग्र्यानिक जीवनशैलीमा रमाएको चित्लाङ वास्तवमै एउटा अग्र्यानिक गाउँ हो । होमस्टे व्यवसायले पहिचान बनाइसकेको यसक्षेत्रमा निर्माणाधीन मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले स्थानीयवासीमा नयाँ आशा जगाएको छ । यद्यपि, विकाससँगै विनाश नहोस् भन्ने चिन्ता यहाँका नागरिक, सामाजिक अभियन्ता र अगुवाको साझा आवाज बनेको छ ।

‘पर्यटन भनेको बेच्ने क्षेत्र हो, यसलाई जति प्रभावकारीरुपमा प्रवद्र्धन र बिक्री गर्न सक्यौँ, त्यति नै समग्र आर्थिक विकास सम्भव हुन्छ,’ थाहा नगरप्रमुख विष्णु विष्टले भने । उनकाअनुसार, बागमती प्रदेश स्थापना भएपछि दूरदर्शी सोचका साथ तत्कालीन प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभएका भ्युटावर ‘पर्यटनको पूर्वाधार विकास नै समग्र विकासको आधार हो’ भन्ने नीतिअनुसार निर्माण अगाडि बढाइएको हो । यही नीतिका आधारमा बागमती प्रदेश सरकारले चित्लाङको पर्यटन सम्भावनालाई प्राथमिकतामा राखेको उनले बताए ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार बनेपछि, विगतमा अलमलमा परेका संरचनाले गति लिएका छन् । प्रदेश स्थापना भएदेखि सुरु भएर अधुरा रहेका संरचना कसको पालामा सुरु भयो भन्ने नहेरी पूर्णता दिने अभियानमा सरकार लागेको संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले बताए । ‘चित्लाङ हिलस्टेसन प्याकेज’ कार्यक्रममार्फत् कुल ५ करोड २७ लाख ४७ हजार रुपैयाँ लागतमा निर्माण गरिएको भ्युटावर तथा सहायक संरचना (२०७७ र २०८० का दुई प्याकेज) लामो समय प्रयोगविहीन रहे । व्यवस्थापनको कार्यविधि नबन्दा अन्योलमा परेको संरचना गतसाता मात्रै थाहा नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

सम्झौताअनुसार भ्युटावरबाट हुने आम्दानीको ७० प्रतिशत थाहा नगरपालिका र ३० प्रतिशत बागमती प्रदेश सरकारको राजस्व खातामा अर्धवार्षिकरुपमा जम्मा हुनेछ । यो संरचना पर्यटन प्रवद्र्धनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था गरिएको छ । मुख्य टावरसँगै क्रिएसन हल, शौचालय, गेट, गार्ड हाउस ररिटेनिङ वाल निर्माण भइसकेका छन्, र एक पटकको मर्मतसम्भार प्रदेश सरकारले बेहोर्ने सहमति पनि गरिएको छ । प्रदेश सरकारले हालसम्म ९ जिल्लामा ११ वटा भ्युटावर निर्माण गरिसकेको छ, जसमा चित्लाङसहित ५ वटा सञ्चालनमा आएका छन् ।

बाँकी संरचना पनि क्रमशः स्थानीय तहलाई हस्तान्तरण हुँदैछन् । इतिहास, प्रकृति र सम्भावनाको त्रिवेणी चित्लाङ अब केवल सम्झनाको गन्तव्य होइन । दिगो पर्यटन र स्थानीय समृद्धिको नयाँ केन्द्र बन्दै अघि बढिरहेको छ । सही व्यवस्थापन, संवेदनशील विकास र प्रभावकारी प्रवद्र्धनका साथ चित्लाङलाई साँच्चै नै छुट्टै, नौलो र आकर्षक पहिचान दिलाउन सकिने आधार बलियो बन्दै गएको संस्कृति पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*