कुण्डलदेवी बहुउद्देश्यीयको २५औँ वार्षिक साधारणसभा

साझाकुरा
२०८२ पुष १९, शनिबार १०:४९

हेटौंडा- कुण्डलदेवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभा संस्थाका अध्यक्ष शिवकुमार खत्रीको सभाध्यक्षता एवम् पूर्वअध्यक्ष विनोदकुमार लामाको प्रमुख आतिथ्यतामा भएको हो । साधारणसभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष खत्रीले कृषकबीच सामूहिक भावना र सहभागितामूलक विकासलाई प्राथमिकतामा राख्दै उनीहरुसँग उपलब्ध स्रोतसाधन र समयलाई अझ उत्पादनशील कार्यमा लगाइने बताएका छन् ।

कृषकको सीप तथा क्षमता अभिवृद्धि, बचत गर्ने बानीको विकास, आवश्यक कृषि प्राविधिक सेवा, मल, बीउबिजन तथा उन्नत जातका पशु सुपथमूल्यमा उपलब्ध गराउँदै बजार व्यवस्थापनलाई प्रभावकारीरुपमा समन्वय गरिने उनको भनाइ थियो । उनले बचत संकलन र कर्जा प्रवाहलाई सन्तुलितरुपमा अघि बढाउँदै आन्तरिक नियन्त्रण प्रणाली थप मजबुत बनाइएको उल्लेख गरे ।

आगामी आर्थिक वर्षमा सदस्य केन्द्रित सेवाविस्तार, प्रविधिमैत्री प्रणालीको विकास, कर्जा जोखिम व्यवस्थापन मजबुत बनाउने तथा सामाजिक उत्तरदायित्वअन्तर्गत पालुङ क्याम्पसलाई प्रदान गर्दै आएको छात्रवृत्तिलाई निरन्तरता दिइने प्रतिवेदनमा उल्लेख गरिएको छ । थाहा नगरपालिका र भीमफेदी गाउँपालिकाभर सदस्य विस्तार योजना अघि बढाइने जानकारी दिइयो । साधारणसभामा सचिव सीताराम रुम्बाले सचिवको प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक केदार केसीले लेखा प्रतिवेदन प्रस्तुत गरे ।

कोषाध्यक्ष दानु गोपालीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार संस्थामा हाल ७२८ जना सदस्य, ८२ लाख रुपैयाँ सेयरपूँजी, ३ करोड ३ लाख रुपैयाँ कर्जा लगानी, २ करोड १७ लाख रुपैयाँ बचत संकलन भई कुल कारोबार ५ करोड रुपैयाँ पुगेको छ । साधारणसभामा उत्कृष्ट कारोबार गर्ने तथा ज्येष्ठसदस्यलाई सम्मान गरिएको थियो । बचततर्फ थाहा–१ का माधवप्रसाद बिडारी, उत्तमप्रसाद पौडेल र थाहा–४ की अञ्जली लो, कर्जातर्फ थाहा–३ का मनश्याम बस्नेत, जितेन्द्रकुमार, शिखर सप्लायर्स थाहा–३ का प्रो. विश्वनाथ रायमाझी तथा ज्येष्ठसदस्य सम्मानतर्फ थाहा–४ की ईश्वरी खत्री गोतामे, थाहा–५ का मानसिंह भोम्जन र थाहा–४ का सप्तऋषि थिङ गोपाली सम्मानित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*