मकवानपुरमा रुपचन्द्र बिष्ट मार्गमा ३ करोडको काम सुरु
हेटौंडा- नेपालमा थाहा आन्दोलनका प्रणेता तथा जनअधिकारका प्रवर्तक स्व. रुपचन्द्र बिष्टको नाममा नामाकरण गरिएको रुपचन्द्र बिष्ट मार्ग निर्माणको काम सुरु भएको छ । चालु आर्थिक वर्षमा विनियोजित ३ करोड रुपैयाँको बजेटबाट राक्सिराङ गाउँपालिका–३ खण्डमा सडक निर्माणकार्य औपचारिक रुपमा प्रारम्भ गरिएको मकवानपुर क्षेत्र नम्बर २ का निवर्तमान सांसद महेशकुमार बर्तौलाले बताएका छन् ।
निबर्तमान सांसद बर्तौलाको विशेष आतिथ्यतामा सडक निर्माणकार्यको शुभारम्भ राक्सिराङ गाउँपालिका–३ का ज्येष्ठसदस्य ८७ वर्षीय कृष्णबहादुर पाख्रिङ र सिहबहादुर पाख्रिङले गरेका हुन् । संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत यस मार्गलाई राजमार्गस्तरमा विकास गर्ने उद्देश्यसहित विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम अगाडि बढिसकेको जनाइएको छ ।
पालुङ हुँदै कैलाश,राक्सिराङ र मनहरी जोड्ने यस मार्ग रुपचन्द्र बिष्टको नाममा नामाकरण गरिएको हो । किसान, निमुखा, असहाय र गरिब जनताका नेता तथा जनमुखी अगुवाकारुपमा चिनिने बिष्टको विचार र योगदानलाई स्मरण गर्दै मार्ग निर्माणलाई प्राथमिकतामा राखिएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । यो मार्ग निर्माण सम्पन्न भएपछि त्रिभुवन राजपथ र महेन्द्र राजमार्गलाई जोड्ने वैकल्पिक र छोटो मार्गकारुपमा विकास हुने अपेक्षा गरिएको छ । जसका कारण मनहरीदेखि काठमाडौंसम्मको यात्रा अझ सहज, सुरक्षित र छिटो हुने विश्वास गरिएको छ ।
सडक निर्माणले विशेष गरी राक्सिराङ र कैलाश क्षेत्रका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्नेछ । यातायात पहुँच विस्तारसँगै कृषि उपजको बजारिकरण, सेवासुविधामा पहुँच र समग्र सामाजिक आर्थिक विकासमा टेवा पुग्ने स्थानीयको अपेक्षा छ ।







