निर्वाचन आउन २ महिना बाँकी रहँदा मकवानपुरमा राजनीतिक सरगर्मी तीव्र

साझाकुरा
२०८२ पुष २१, सोमबार ११:४१

हेटौंडा-आसन्न प्रतिनिधिसभा निर्वाचन आउन अब दुई महिनामात्रै बाँकी रहँदा मकवानपुरमा राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल, युवापुस्ता चुनावी तयारीमा जुटेका छन् । चोकचौतारा, चियापसलदेखि राजनीतिक दलका कार्यालयसम्म निर्वाचनकै चर्चा र बहस बाक्लिँदै गएको छ । हालसम्म नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले, राप्रपालगायतले प्रत्यक्षतर्फका आकाक्षी उम्मेदवारको टुङ्गो लगाएर माथिल्लो कमिटीमा सिफारिस पठाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेद्वार टुंगो लगाउन बाँकी रहेको छ । उम्मेदवार टुंगो लगाउने प्रक्रियालाई टुंग्याउन, चुनावी सरगमी बढाउनका लागि विभिन्न राजनीतिक दलका केन्द्रीय तहका नेताहरु जिल्ला आउने क्रम बढेको छ ।

केन्द्रको निर्देशनअनुसार जिल्लास्तरमा संगठन परिचालन, रणनीतिक छलफल र चुनाव केन्द्रित गतिविधि तीव्र बनाइएको दलहरुले जनाएका छन् । दलहरुले केन्द्रको सर्कुलरअनुसार पार्टीका कामहरु व्यवस्थित गर्ने, संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन र उम्मेदवार सिफारिसको काम गरिरहेको जनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि मकवानपुरमा आफूलाई नयाँ राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने तयारीमा लागेको बताएको छ । रास्वपा मकवानपुरका सभापति भरत पराजुलीले पुराना दलहरुको सत्तायात्रा सकिएको दाबी गर्दै यसपटक जनताले नयाँ विकल्प खोजिरहेको जिकिर गरेका छन् ।

मकवानपुरमा प्रतिनिधि सभाअन्तर्गत दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । समानुपातिकतर्फ बन्दसूची बुझाइ सकेका राजनीतिक दलहरु प्रत्यक्षतर्फ उम्मेदवार
सिफारिस, चुनावी रणनीति निर्माण लगायतमा व्यस्त रहेका छन् । बन्दसूचीमा आयोगले तोकेअनुसारका प्रक्रिया नमिलेको भन्दै आयोगले बन्दसूची सच्याउन पत्राचार
गरिरहेको छ । दलहरुले एकसाता भित्र बन्दसूची सच्याएर बुझाएपछि काम अगाडि बढ्ने बताइएको छ ।

समानुपातिकको बन्दसूची रुजु गर्ने काम सकियो

निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरुले बुझाएको बन्दसूचीसम्बन्धी कागजातको रुजु सम्पन्न गरेको छ ।आयोगका तथ्यांक शाखाका निर्देशक पूर्णबहादुर घर्तीमगरका अनुसार पुस १६ गतेदेखि २० गतेसम्म दलहरुको बन्दसूचीमा रहेका कागजातहरुको जाँच गरिएको हो । रुजु गर्नेक्रममा देखिएका कैफियत छुट््याएर सम्बन्धित राजनीतिक दललाई आइतबार साँझसम्म पत्रमार्फत् जानकारी गराइने उनले जानकारी दिए । ‘१६ गतेदखि २० गतेसम्म दलहरुको दर्ता भएको समानुपातिकतर्फको बन्दसूचीमा रहेको डकुमेन्टहरू रुजु ग¥यौं ।

रुजु गर्दा देखिएका कैफियतहरु हामी सबै कोट गरेर सम्बन्धित दललाई आइतबार साँझसम्म पत्र पठाउँछौं,’ उनले भने । कागजात नपुगेका, उमेर नपुगेका लगायतका सबै त्रुटि छुट्याएर दलहरुलाई सच्याउन पठाइने उनले बताए ।उनका अनुसार २१ गतेदेखि २७ गतेसम्म दलहरुले त्रुटि सच्याएर पुनः बन्दसूची पेश गर्न पाउनेछन् । अन्तिम सूची सार्वजनिक हुनुअघि सम्बन्धित उम्मेदवारले आफ्नो नाम फिर्ता लिनसक्ने उनले बताए ।

‘डकुमेन्ट नपुगेका, उमेर नपुगेकालगायत सबै छुट्याएर हामी पठाउँछौ । त्यसको आधारमा २१ गतेदेखि २७ गतेसम्म दलहरुले ती कुरा सच्याएर ल्याउनुहुन्छ र हामीले दलको तर्फबाट आएको बन्दसूचीलाई २७ गते फाइनल गर्छौं,’ उनले भने । समानुपातिक सूचीमा रहन नचाहने उम्मेदवारले २८ गते उम्मेदवारी फिर्ता लिन पाउनेछन् । त्यसको जानकारी पनि आयोगले सम्बन्धित दललाई दिने उनले बताए ।

दलबाट प्राप्त अन्तिम विवरणका आधारमा खाली स्थानमा नयाँ उम्मेदवार सिफारिस गरेपछि तयार हुने अन्तिम बन्दसूचीलाई निर्वाचन आयोगले सार्वजनिक गर्ने उनले जानकारी दिए । ‘सम्बन्धित उम्मेदवारले आफ्नो नाम फिर्ता लिन पाउनुहुन्छ । समानुपातिकमा बस्न चाहन्न भन्नेले २८ गते उम्मेवारी फिर्ता दिन पाउनेछन्, हामीले त्यो पनि सम्बन्धित दललाई जानकारी दिन्छौं,’ उनले भने, ‘दलको विवरण आइसकेपछि दलले खाली ठाउँमा नयाँ मान्छे सिफारिस गरेपछि दलको तर्फबाट अन्तिम बन्दसूची तयार पारेपछि हामीले त्यसलाई सार्वजानिक गर्छौं ।’

फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलहरुले पुस १३ र १४ गते समानुपातिकतर्फको बन्दसूची पेश गरेका थिए । माघ ४ गते बन्दसूची सार्वजनिक गरिनेछ । सूचीमा रहेका उम्मेदवारबारे कानुनीरुपमा अयोग्य भनी दाबीविरोध परेमा छानबीन गरी माघ २० गते अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । सूची त्यसपछि भने परिवर्तन हुने छैन । त्यस्तै आयोगले आउँदो प्रतिनिधिसभा सदस्य चुनावका लागि फागुन १० गतेभित्र जिल्ला जिल्लामा मतपत्र पु¥याउने गरी काम थालेको छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सरदर दुई करोड मतपत्र छाप्ने आयोगको तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*