भीमफेदी–देउराली खण्डका ऐतिहासिक संरचना संरक्षणको पर्खाइमा

विभागको स्वीकृति नभएकाले काम अघि बढेन : पालिका प्रमुख
साझाकुरा
२०८२ पुष २२, मंगलवार १२:३३

हेटौंडा-हेटौंडा हुँदै काठमाडौँ जाने वैकल्पिक मार्गअन्तर्गत भीमफेदीदेखि देउराली सम्मको दूरीमा नेपालका राजनीतिक, प्रशासनिक र इतिहाससँग जोडिएका दर्जनौँ ऐतिहासिक महत्वका संरचना छन् । राणाकालीन भौतिक संरचना, पुरानो सदरमुकाम र ऐतिहासिक नाकाकारुपमा परिचित यो क्षेत्र संरक्षणको अभावमा क्रमशः ओझेलमा पर्दै गएको छ । हेटौंडाबाट करिब ३० किलोमिटरको दूरीस्थित भीमफेदी मकवानपुरको पुरानो सदरमुकाम पनि हो । राणाकालीन समयमा काठमाडौं आवतजावतका क्रममा विशेषगरी बास बस्ने स्थानकारुपमा परिचित रहेको थियो । वि.सं २०३९ मा तत्कालीन जिल्ला सभापति ओमुटेम्पा लामाले मकवानपुरको सदरमुकाम भीमफेदीबाट सारेर हेटौंडामा पु¥याएपछि भने चहल पहलयुक्त भीमफेदी एकाएक उजाड बन्दै गयो ।

यहाँका अधिकांश कार्यालय हेटौंडा सरेपछि व्यापार व्यवसायसमेत हटौंडातिरै सर्न पुग्यो । तामाङ जातिको बाहुल्य रहेको मकवानपुरको देउराली, कोगटे तथा सुपिङको बीचमा रहेको भीमफेदी बजार भने नेवार व्यापारी बाहुल्य बजार थियो । नेवार भएकै कारण विभिन्न जात्रा, महोत्सव, झाँकी, नाचलगायत विभिन्न सांस्कृतिक कार्यक्रम एवं पर्व विशेषका जात्रा र कार्यक्रमले गर्दा सांस्कृतिकरुपमा पनि समृद्ध थियो, भीमफेदी । राणाकालमा बेलायती राजारानीलगायत विदेशी पाहुना हात्तीमा बसेर सिकार खेल्नका निम्ति पनि भीमफेदी नै आउँथे । विगतमा पैदलयात्रुका निम्ति बास बस्न बनाइएका पार्टीपौवा र निजी भवन अहिले जीर्ण छन् ।

मकवानपुरको पुरानो सदरमुकाम भीमफेदी हात्तीसारस्थित हौदा संग्रहालयमा रहेका हौदालगायत विभिन्न ऐतिहासिक सामग्री संरक्षणको पर्खाइमा छन् । संग्रहालयमा सन् १९५२ मा बेलायती महारानी एलिजाबेथ र जंगबहादुर राणा लगायत राणा परिवारले प्रयोगगरेका हौदाहरु छन् । राजा महेन्द्रको निमन्त्रणामा नेपाल आएकी महारानी एलिजाबेथ द्वितीयाले अहिले संग्रहालयमा रहेका सिकारी हौदा कसिएका हात्ती चढेर हालको चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ, गैंडालगायत वन्यजन्तुको सिकार गरेका थिए । संग्रहालयमा महारानी एलिजाबेथले प्रयोग गरेका ४ वटा सिकारी हौदा र जंगबहादुरले प्रयोग गरेका पिँजडा हौदा छन् ।

ऐतिहासिक चिसापानीगढी, राजा महाराजा एवं राणाले निर्माण गरेका भौतिक संरचना, वि.सं १९६४ मा निर्मित अनौठो र आकर्षक पृथ्वी–चन्द्र अस्पताल भवन, राणा प्रधानमन्त्री जुद्धशमशेरले निर्माण गराएको विशाल धर्मशाला (हाल भत्काइएको र महेन्द्र माविको आधुनिक भवन बनाइएको), पौराणिक कालीगढी नमूना झल्कने भीमसेन महाराजको मूर्ति भएको भीमसेन मन्दिर, ढुंगेधारासहितको आकर्षक पोखरी र मनोरम बगैँचाजस्ता थुप्रै ऐतिहासिक संरचनाले झकिझकाउ भीमफेदी, सदरमुकाम सरेपछिनिरस र उजाडमात्र बनेन यहाँका सांस्कृतिक परम्परा भीमसेन जात्रा र अन्य केही सानातिना जात्राबाहेक लगभग सम्पूर्ण लोप हुने अवस्थामा पुगेका छन् ।

 मार्गको आफ्नै ऐतिहासिक विशेषता रहेको इतिहासकार बताउँछन् । भीमफेदीको चिसापानीगढी कुनै समय देशकै सबैभन्दा व्यस्त नाका थियो ।राणाकालीन समयमा काठमाडौँ भित्र्याइने मोटरगाडी भीमफेदीसम्म गुडाएर ल्याइने र त्यहाँबाट मान्छेले बोकेर उपत्यका पु¥याइने गरिन्थ्यो । चिसापानीगढी तत्कालीन समयमा राहदानी जाँच गर्ने प्रमुखस्थलका रुपमा प्रयोग हुने गरेको इतिहास अध्यता रविन्द्र रिजालले बताए । राज्यको संस्कृति, इतिहास रराजनीतिक घटनाक्रमसँग जोडिएका यस्ता पुरातात्विक संरचनाको संरक्षण आवश्यक रहेको उनले बताए ।

भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले भने भीमफेदीमा रहेका केही सम्पदा पुरातत्व विभागको क्षेत्राधिकारभित्र पर्ने भएकाले आवश्यक समन्वयबिना मर्मत तथा संरक्षण गर्न नसकिने बाध्यता रहेको बताएका छन् । पालिकाको कार्यक्षेत्रभित्र पर्ने संरचनाको संरक्षण पालिकाले गर्दै आएको भएपनि कतिपय संरचनामा पुरातत्व विभागको स्वीकृति र सहभागिता अनिवार्य भएकाले काम अघि बढ्न नसकेको उनको भनाइ छ । उचित संरक्षण, मर्मत र प्रवद्र्धन गर्नसके यस क्षेत्रलाई ऐतिहासिक पर्यटनसँग जोड्न सकिने र त्यसबाट स्थानीयको आर्थिक वृद्धिमा समेत टेवा पुग्ने विश्वास अपेक्षा गरिएको छ ।

राजधानी प्रवेश गर्ने छोटो वैकल्पिक हेटांैडा भीमफेदी, कुलेखानी, सिस्नेरी, फाखेल दक्षिणकाली र फर्पिङ बाटोमा मोटर सञ्चालनमा आउन थालेपछि भीमफेदीमा चहलपहल बढ्न थालेको छ । गाउँपालिका जनप्रतिनिधिले पनि भीमफेदीलाई ‘कमब्याक’गराउन प्रयत्न गरेका छन् । जिल्लाको पूर्वसदरमुकामका रुपमा रहेका भीमफेदी अहिले भीमफेदी गाउँपालिकाको केन्द्र हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*