भीमफेदी सुमो दुर्घटनाः मृतक ६ जनामध्ये ५ को सनाखत
हेटौंडा- मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आइतबार साँझ भएको दुर्घटनामा ज्यान गुमाएका ६ जनामध्ये ५ जनाको सनाखत भएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना. १ ज १७७८ नम्बरको सुमो भीमफेदी–कुलेखानी सडक खण्डमा सडकबाट करिब १०० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको थियो । दुर्घटनामा सवार ९ जनाको उद्दार गरी हेटौंडा अस्पताल ल्याइएकोमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको र अन्य ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए ।
मृत्यु हुनेहरुमा हेटौंडा उपमहानगरपालिका–४ कमलडाँडा निवासी ४० वर्षीया सबिता लम्साल, हेटौंडा उपमहानगरपालिका–२ कान्तिराजपथ निवासी २९ वर्षीय निखिल अग्रवाल, हेटौंडा उपमहा नगरपालिका–१० भुटनदेवी टोल निवासी ५६ वर्षीय कृष्णप्रसाद फुँयाल, भारतको विहार राज्य बेगुसराई निवासी ५० वर्षीय अरबिन्द कुमार र भारतको विहार राज्य पटना निवासी ४२ वर्षीय रजनिस कुमार छन् । मृतक एक पुरुषको सनाखत हुन बाँकी रहेका प्रवक्ता बोगटीले बताए ।
दुर्घटनामा परी घाइते भएका सुमोचालक हेटौंडा उपमहानगरपालिका–४ कर्राचोक निवासी ४५ वर्षीय गणेश थापा, मृतक सविताका १२ वर्षीया छोरी अभ्यास लम्सालको चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र अर्का घाइते रौतहटको चन्द्रपुर नगरपालिका–२ निवासी २१ वर्षीया रिचा चौधरीको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रवक्ता बोगटीले बताए । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको सुमो आइतबार साँझ सडकबाट १०० मिटर तल खोल्सामा खस्दा सुमोमा सवार ६ जनाको मृत्यु भएको हो ।







