लागूऔषध नियन्त्रणमा स्थानीय सरकारले लगानी गर्छः नगरप्रमुख लामा
हेटौंडा-हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले लागूऔषध नियन्त्रणका लागि अब स्थानीय सरकारले लगानी गरेर काम गर्ने बताएकी छिन् ।सोमबार हेटौंडामा भएको लागूऔषध नियन्त्रणसम्बन्धी सचेतना मूलक कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख लामाले लागूऔषध नियन्त्रण थुनेर मात्र सम्भव नहुने उल्लेख गरिन् । उनले सबै क्षेत्रबाट सचेतना फैलाएर मात्र यसको न्यूनीकरण गर्न सकिने बताइन् । लागूऔषधका कारण हेटौंडामा ठूलो चुनौती बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले यसलाई नियन्त्रण गर्नु आजको आवश्यकता भएको धारणा राखिन् । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले लागूऔषधका कारण हेटौंडाको अवस्था भयावह बन्दै गएको बताए ।
लागूऔषध नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय सरकार दुवै सक्रिय हुनुपर्नेमा जोड दिँदै प्रजिअ अधिकारीले लागूऔषधका कारण जिल्लामा अन्य अपराधका घटनासमेत तीव्ररुपमा बढ्दै गएको बताए । हेटौंडा लागूऔषध ओसारपसारको ट्रान्जिट बिन्दु बन्दै गएकोतर्फ उनले ध्यानाकर्षण गराए । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायवमहानिरीक्षक अरुण पौडेलले लागूऔषधसहित पक्राउ गर्नेकार्य निरन्तर भइरहेको जानकारी दिए । अबका दिनमा यसको न्यूनीकरणका लागि सबै पक्ष मिलेर काम गरेमात्र सफलता हासिल गर्न सकिने उनको भनाइ थियो ।
लागूऔषध नियन्त्रण कार्यमा मकवानपुर जिल्लालाई प्रदेश प्रहरी कार्यालयबाट सक्दो सहयोग रहने उनले प्रतिबद्धता व्यक्त गरे । नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईंले लागूऔषध नियन्त्रणका लागि स्थानीय सरकारले टोलटोलमा संयन्त्र निर्माण गरी काम गर्नुपर्ने आवश्यकता औंल्याए । सडक निर्माणलाई मात्र विकास नठान्न आग्रह गर्दै उनले लागूऔषधका कारण समाज भयावह बन्दै गएकोले यसको नियन्त्रणमा स्थानीय सरकारले प्राथमिकताका साथ लगानी गर्नुपर्ने बताए ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक पुष्कर बोगटीले लागूऔषधका कारण मकवानपुर जिल्लामा भइरहेका अपराधसम्बन्धी तथ्यांक प्रस्तुत गरेका थिए । त्यसैगरी हेटौंडा उपमहानगरप्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईंलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, हेटौंडाका वडाअध्यक्षहरु, वडा सदस्यहरु, विद्यालयका शिक्षकहरु, यातायात व्यवसायी, पत्रकार तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता रहेको थियो ।







