राष्ट्रिय सभा दुई सदस्यका लागि आज मनोनयन हुँदै

साझाकुरा
२०८२ पुष २३, बुधबार १०:३५

हेटौंडा-माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज बुधबार मनोनयन दर्ता हुँदैछ । बागमती प्रदेशमा रिक्त सदस्यको लागि आज बुधबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । बागमती प्रदेशमा दुईजना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुन लागेको हो । तीमध्ये एकजना महिला र एकजना अन्य समूहबाट निर्वाचित हुनेछन् । हाल बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य रहेका तत्कालीन नेकपा (माओवादी केन्द्र) की गंगाकुमारी बेलवासे र तत्कालीन नेकपा एकीकृत (समाजवादी) का बेदुराम भुषालको पदावधि २०८२ फागुनबाट सकिन लागेको हो ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार बागमती प्रदेशसभाका एक सय १० जना सदस्य र प्रदेशका १३ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख २ सय ३८ जना गरी कुल ३ सय ४८ जना मतदाता रहेका छन् । मतभारको हिसाबले स्थानीय तहका प्रमुख उपप्रमुखको कुल मतभार ४ हजार ५ सय २२ र प्रदेशसभा सदस्यको मतभार ५ हजार ८ सय ३० गरी जम्मा १० हजार ३ सय ५२ मतभार रहेको छ । निर्वाचनका लागि हेटौंडा उपमहा नगरपालिका–४ स्थित भूटनदेवी माध्यमिक विद्यालयलाई मतदानस्थल तोकिएको छ । जहाँ, दुईवटा मतदान केन्द्र रहनेछन् । विद्यालयको ‘बी’ ब्लकमा मतदान हुनेछ भने प्राविधिक भवनमा मतगणना गरिने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरुले मतदानस्थलको निरीक्षण गरिसकेका छन् । निर्वाचनका लागि प्रतिमतदान केन्द्र ८ जनाको दरले १६ जना कर्मचारी खटाइने जानकारी दिइएको छ । मतदान प्रक्रियाअनुसार प्रदेशसभा सदस्यले सेतो कागजमा हरियो रङको मसिले विवरण तथा चिन्ह उल्लेख गर्नेछन् भने स्थानीय तहका प्रतिनिधिले रातो रङको मसिले मतदान गर्नेछन् ।

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकेको छ । उम्मेदवारको बन्दसूची बुधबार दिनको ३ देखि ४ बजेसम्म प्रकाशन हुनेछ । पौष २४ गते उम्मेदवारविरुद्ध उजुरी, पौष २५ र २६ गते उजुरी तथा मनोनयनपत्रमाथि जाँचबुझ गरिनेछ । पौष २६ गते दिउँसो ३ बजे उम्मेदवारको नामावली प्रकाशन, पौष २७ गते नाम फिर्ता र अन्तिम नामावली प्रकाशन तथा पौष २८ गते उम्मेदवारलाई निर्वाचनचिन्ह प्रदान गरिनेछ । राष्ट्रियसभा निर्वाचनको लागि जिल्ला न्यायधीश श्रेष्ठलाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ ।

कांग्रेसको मतभार धेरै

बागमती प्रदेशको कुल मतदाता ११० प्रदेशसभा सदस्यको मतभार ५ हजार ८३० हुन आउँछ भने स्थानीय तहका २३७ पदाधिकारीको मतभार ४ हजार ५०३ हुन्छ । यसरी बागमती प्रदेशअन्तर्गत राष्ट्रियसभा निर्वाचनमा मतदाताको कुल मतभार १० हजार ३३३ हुन्छ ।बागमती प्रदेशमा नेपाली कांग्रेसको मतभार अन्य दलको तुलनामा धेरै छ । कांग्रेससँग प्रदेशसभामा ३७ सिट छ । स्थानीय तहतर्फ कांग्रेसका १०८ प्रमुख तथा उपप्रमुख रहेकोमा एकजना मतदानमा सहभागी हुन नपाउने भएकाले १०७ जनामात्र मतदाता हुनेछन् । प्रदेशसभा तर्फ १ हजार ९६१ र स्थानीय तहतर्फ २ हजार ३३ गरी कांग्रेसको कुल मतभार ३ हजार ९९४ हुन आउँछ ।

बागमती प्रदेशमा नेकपा एमाले २ हजार ५७१ मतभारका साथ दोस्रो स्थानमा छ भने नेकपा माओवादी केन्द्रको २ हजार १९६ मतभार र नेकपा एकीकृत समाजवादीको ५४२ मतभार छ । हाल माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएको अवस्थामा यी दुवै दलको मतभार २ हजार ७३८ हुन आउँछ । प्रदेशसभामा १३ सिट भएको राप्रपाको कुल मतभार ७०८ मात्र छ भने नेमकिपाको १९७, हाम्रो नेपाली पार्टीको १०६ र स्वतन्त्र उम्मेदवारको १९ मतभार छ । ५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक २ वर्षमा एकतिहाइ सदस्यको पदावधि सकिने र उनीहरुको ठाउँमा नयाँ चयन हुने व्यवस्था छ । सोही क्रममा अहिले राष्ट्रियसभाका १९ सदस्य पदरिक्त हुन लागेको हो ।

तीमध्ये १८ जना निर्वाचनका माध्यमबाट राष्ट्रियसभा सदस्य भएका हुन् भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका हुन् । सोही अनुसार रिक्त हुने पदपूर्तिका लागि १८ जना निर्वाचनका माध्यमबाट र एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन् । २०७२ सालमा जारी नेपालको संविधानले प्रतिनिधिसभा र राष्ट्रिय सभालाई संघीय व्यवस्थापिकाको व्यवस्था गरी यसलाई संघीय संसद्को रुपमा नामकरण गरेको छ । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक प्रणाली बमोजिम ११० गरी कुल २७५ जना रहने व्यवस्था गरेको छ ।

यस्तै राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट समानुपातिक आधारमा ८ जना गरी ५६ जना र राष्ट्रपतिबाट मनोनीत १ महिला सहित ३ जना गरी ५९ जना रहने व्यवस्था रहेको छ । राष्ट्रियसभाका सदस्यको पदावधि ६ वर्षको हुने संविधानमै उल्लेख गरिएको छ । राष्ट्रियसभाका एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*