हेटौंडाका डान्स बार र दोहोरी साँझलाई प्रशासनको कडा चेतावनी

राति १२ बजेपछि पूर्ण रुपमा बन्द गर्न प्रजिअको निर्देशन
साझाकुरा
२०८२ पुष २३, बुधबार १०:३९

हेटौंडा- पछिल्लो समय मकवानपुरमा सञ्चालनमा रहेका डान्स बार तथा दोहोरी साँझमा अनैतिक गतिविधि र सामाजिक विकृति फैलिएको भन्ने गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले सम्बन्धित पक्षसँग छलफल गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भएको छलफलमा सुरक्षा निकाय, स्थानीय तहका प्रतिनिधि, डान्स बार तथा दोहोरी साँझ सञ्चालकको सहभागिता रहेको थियो । छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी बसन्तराज अधिकारीले प्रचलित कानुन, सामाजिक मर्यादा र सार्वजनिक शान्तिसुरक्षाविपरीतका गतिविधि कुनै पनि हालतमा सह्य नहुने स्पष्ट पारेका छन् । उनले गैरकानुनी ढंगले सञ्चालन भएका डान्स बार र दोहोरी साँझ बन्द गराइने चेतावनी दिँदै कुनैपनि बेला अनुगमन हुने जानकारी दिए ।

प्रजिअ अधिकारीले शान्ति सुरक्षामा चुनौती बढ्ने खालका गतिविधि नगर्न निर्देशन दिएका छन् । अनुमति दिने निकायसँग पनि थप छलफल गरी नीतिनियम कडाइकासाथ लागू गरिने उनको भनाइ छ । प्रजिअ अधिकारीले अनुमति दिनुअघि वडा र स्थानीय तहले क्षेत्र उपयुक्त छ कि छैन ? भन्ने विषयमा गहन अध्ययन गर्नुपर्ने बताए । छलफलका क्रममा डान्स बार र दोहोरी साँझ राति १२ बजेपछि पूर्णरुपमा बन्द गर्नुपर्ने निर्देशन दिइएको छ । डान्स तथा दोहोरी साँझमा पालना गर्नुपर्ने नियमहरु स्पष्टरुपमा देखिने गरी एक हप्ताभित्रराख्न निर्देशन दिइएको छ ।

छलफलमा डान्स बार तथा दोहोरी साँझ सञ्चालकले आफूहरु कानुनी दायरामै रहेर इमानदारितापूर्वक व्यवसाय सञ्चालन गर्दै आएको दाबी गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुबासचन्द्र बोहराले बस्तीको बीचमा रहेका व्यवसायलाई व्यवस्थितरुपमा सञ्चालन गर्न आग्रह गरे । हाल हेटौंडा–४ र १० नम्बर वडामा डान्स बार तथा दोहोरी साँझ सञ्चालनमा रहेका छन् । मंगलबार नै १० नम्बर वडास्थित टोलविकास संस्थाका प्रतिनिधिले डान्स तथा दोहोरी साँझमाहुने विकृति रोक्न माग गर्दै जिल्ला प्रसाशन कार्यालयमा डेलिगेसनमा गएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*