चेपाङ समुदायमा आधारभूत अधिकार प्राप्त गर्न कठिनाई
हेटौंडा-अति सीमान्तकृत तथा अल्पसंख्यक चेपाङ समुदायमा नागरिकता, जन्मदर्ता तथा सामाजिक सुरक्षा जस्ता आधारभूत अधिकार प्राप्त गर्न कठिनाइ रहेको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको ‘चेपाङ समुदायको मानवअधिकार अवस्था अध्ययन प्रतिवेदन, २०८२’ ले यो तथ्य देखाएको हो । प्रतिवेदनअनुसार शिक्षा र कानुनी सचेतनाको कमीका कारण चेपाङ समुदायमा बालविवाहको समस्या अझै कायम छ । बालविवाह हुँदा विवाह कानुनीरुपमा दर्ता नहुने र त्यसको असर नवजात शिशुको जन्मदर्तामा पर्ने गरेको आयोगले जनाएको छ । समयमै जन्मदर्ता नहुँदा बालबालिकाको शिक्षाको मौलिक हकमा अवरोध सृजना भएको आयोगले जनाएको छ ।
कम उमेरमै विवाह गर्दा विवाहपछि किशोरीले समयमै नागरिकता प्रमाणपत्र पहुँच स्थापित गर्न सकस परेको प्रतिवेदनमा उल्लेख छ । यसले गर्दा आवश्यक परेपछि मात्र नागरिकता बनाउने परिस्थितिको निर्माण भएको जनाइएको छ । आयोगले मकवानपुरको राक्सिराङ गाउँपालिकामा गरेको नमूना सर्वेक्षणअनुसार करिब ९ प्रतिशत चेपाङ नागरिक नागरिकताको अधिकारबाट वञ्चित छन् । नागरिकता नहुँदा ज्येष्ठनागरिकले सामाजिक सुरक्षा भत्ता समेत नपाएको देखिएको छ । यसैगरी, घुम्ती शिविरमार्फत वितरण गरिएका केही नागरिकता प्रमाणपत्रमा वास्तविक उमेरभन्दा कम उमेर उल्लेख भएको पाइएको आयोगले जनाएको छ ।
यसका कारण कैयौँ ज्येष्ठनागरिक कम उमेरकारुपमा सूचीकृत भई सामाजिक सुरक्षा कार्यक्रममा समावेश हुन नसकेको अवस्था देखिएको छ । आयोगले यो अवस्थाले दिगो विकास लक्ष्य नं. १६ अन्तर्गत सन् २०३० सम्म सबैलाई जन्मदर्ता र कानुनी पहिचान दिने लक्ष्य हासिल गर्न चेपाङ समुदायमा अझै चुनौती रहेको जनाएको छ । आयोगले चेपाङ समुदायको कानुनी पहिचान सुनिश्चित गर्न सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्नेमा जोड दिएको छ । २०७८ सालको राष्ट्रिय जनगणना अनसुार नेपालमा चेपाङको कुल जनसंख्या ८४ हजार ३ सय ६४ छ । कुल जनसंख्याको ० दशमलब २९ प्रतिशत हो । चेपाङ समदुायको कूल जनसंख्याको ९५ प्रतिशत चेपाङ चितवन, मकवानपुर, धादिङ र गोरखा जिल्लामा बसोबास गरेको पाइन्छ । यी चार जिल्ला बाहेकका अन्य जिल्लामा ५ प्रतिशत मात्रै चेपाङ बसोबास गर्छन् ।
सबैभन्दा बढी ३५ हजार ३ सय ३७ जनाको चितवन जिल्लामा बसोबास रहेको सरकारी तथ्याङमा उल्लेख छ । चितवन जिल्लाको इच्छाकामना गाउँपालिकामा १०,३३८ जना, धादिङ बेनीघाट रोराङ गाउँपालिका ११,८१५ जना, गोरखाको गण्डकी गाउँपालिकामा ३,६२४ जना र मकवानपुरको राक्सीराङ गाउँपालिकामा ११,४२७ जना गरेर जिल्लागत रुपमा रहेका यी स्थानीय तहमा सबैभन्दा बढी चेपाङको जनसंख्या देखिन्छ ।







