मकवानपुर प्रहरीद्वारा यातायात व्यवसायीसँग अन्तरक्रिया
हेटौंडा-जिल्ला प्रहरी कार्यालय मकवानपुरले यातायात व्यवसायीसँग अन्तरक्रियाको आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको सभाहलमा सम्पन्न कार्यक्रममा मकवानपुरमा क्रियाशील सुमो व्यवसायी, टिकट काउन्टर सञ्चालक तथा चालक गरी ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा मकवानपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले सडकसुरक्षा, यात्रु अभिलेखीकरणको महत्व तथा ट्राफिक नियमको पालनासम्बन्धी विषयमा स्पष्ट पारे ।
उनले सवारी चालक तथा व्यवसायीलाई यात्रुको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने उल्लेख गर्दै नियमको पालना गरी यात्रुलाई सुरक्षितरुपमा गन्तव्यसम्म पु¥याउनु सबैको साझा जिम्मेवारी भएको बताए ।
कार्यक्रममा यात्रु अभिलेखीकरणलाई प्रभावकारी बनाउने, सवारीसाधनको अवस्था, तीव्रगतिमा सवारी नचलाउने, ओभरलोड नगर्ने तथा दुर्घटना न्यूनीकरणका उपायबारे छलफल गरिएको थियो ।कार्यक्रममा सहभागी यातायात व्यवसायीले आफ्नो समस्या, सुझाव तथा अनुभव प्रस्तुत गरेका थिए भने प्रहरी प्रशासनले सहकार्य र समन्वयलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।







