कांग्रेस र एमालेबीच गठबन्धन, नेकपा र नेमकिपा एकलको एकल उम्मेदवारी
हेटौँडा-राष्ट्रियसभा सदस्य निर्वाचनको लागि बागमती प्रदेशमा रिक्त दुई पदको लागि ६ जनाको उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन कार्यालय हेटौैंडामा बुधबार विभिन्न दलका ६ जनाको उम्मेदवारी परेको हो । नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेकपा (एमाले), नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले उम्मेदवारी दर्ता गराएका छन् ।नेमकिपाबाट कविता महर्जन र बिक्रम ढुकुछेले उम्मेदवारी दर्ता गराएका हुन् । बागमती प्रदेशतर्फको अन्य क्लस्टरमा ढुकुछे र महिला क्लस्टरमा महर्जनले मनोनयन दर्ता गरेका हुन् ।
प्रस्तावक सुनिल प्रजापति र रजनी जोशीको समर्थनमा ढुकुछेले मनोनयन दर्ता गराएका हुन् भने सुरेन्द्रराज गोसाँई प्रस्तावक र सृजना सायजु समर्थन रहने गरी महर्जनले मनोनयन दर्ता गरेकी हुन् ।त्यसैगरी, एमाले र नेपाली कांग्रेसको गठबन्धनबाट एमालेका प्रेमप्रसाद दंगालले उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेसबाट गीता देवकोटाले मनोनयन दर्ता गराएकी हुन् । कांग्रेसको समर्थनमा उम्मेदबार बनेका डा. दंगाल अखिल नेपाल कृषक महासंघका अध्यक्ष हुन् । उनले विनु रायमाझी प्रस्तावक र हिदम लामा समर्थनमा मनोनयन दर्ता गरेका हुन् । चितवनकी देवकोटाले बागमती प्रदेशसभा सदस्य किरण थापा प्रस्तावक र रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटा समर्थनमा मनोनयन दर्ता गराएकी छन् ।
नेकपाबाट प्रेमप्रसाद सापकोटा र सरोजकुमारी झाले उम्मेदवारी दिएका छन् । सापकोटाको समर्थक भक्तबहादुर खत्री र प्रस्तावक प्रेमबहादुर पुलामी (छिन्तु) हुन् भने झाको प्रस्तावक मिनाकुमारी लामा र समर्थक सीता पुलामी मगर हुनुहुन्छ ।निर्वाचन कार्यतालिका अनुसार बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको थियो । बागमती प्रदेशमा दुई जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ । तीमध्ये एक जना महिला र एक जना अन्य समूहबाट निर्वाचित हुनेछन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार बागमती प्रदेशसभाका एक सय १० जना सदस्य र प्रदेशका १३ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख दुई सय ३८ जना गरी कूल तीन सय ४८ जना मतदाता रहेका छन् । मतभारका हिसाबले स्थानीय तहका प्रमुख–उपप्रमुखको कूल मतभार चार हजार पाँच सय २२ र प्रदेशसभा सदस्यको मतभार पाँच हजार आठ सय ३० गरी जम्मा १० हजार तीन सय ५२ मतभार रहेको छ ।
राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था छ । राष्ट्रियसभा निर्वाचनका लागि हेटौंडाउपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयलाई मतदान स्थल तोकिएको छ । सो विद्यालयमा दुईवटा मतदान केन्द्र रहनेछन् । ‘बी’ ब्लकमा मतदान हुने र प्राविधिक भवनमा मतगणना गरिने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।मतदान प्रक्रियाअनुसार प्रदेशसभा सदस्यले सेतो कागजमा हरियो रङको मसिले मतदान गर्नेछन् भने स्थानीय तहका प्रतिनिधिले रातो रङको मसिले मतदान गर्ने व्यवस्था गरिएको छ ।
निर्वाचन आयोगले माघ ११ गते विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकेको छ । हाल बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य रहेका तत्कालीन नेकपा (माओवादी केन्द्र) की गंगाकुमारी बेलवासे र तत्कालीन नेकपा (एकीकृत समाजवादी) का बेदुराम भुषालको पदावधि २०८२ फागुनमा सकिन लागेकाले ती रिक्त हुने पदका लागि निर्वाचन हुन लागेको हो ।बागमती प्रदेशमा नेपाली कांग्रेसको मतभार अन्य दलको तुलनामा धेरै छ । कांग्रेससँग प्रदेश सभामा ३७ सिट छ । स्थानीय तहतर्फ कांग्रेसका एकसय आठ प्रमुख तथा उपप्रमुख रहेकोमा एक जना मतदानमा सहभागी हुन नपाउने भएकाले एकसय सात जनामात्र मतदाता हुनेछन् । प्रदेश सभातर्फ एकहजार नौसय ६१ र स्थानीय तहतर्फ दुई हजार ३३ गरी कांग्रेसको कूल मतभार तीन हजार नौ ९४ हुन आउँछ ।
बागमती प्रदेशमा नेकपा एमाले दुई हजार पाँच सय ७१ मतभारका साथ दोस्रो स्थानमा छ भने नेकपा माओवादी केन्द्रको दुई हजार एक सय ९६ मतभार र नेकपा एकीकृत समाजवादीको पाँच सय ४२ मतभार छ । हाल माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएको अवस्थामा यी दुवै दलको मतभार दुई हजार सात सय ३८ हुन आउँछ ।प्रदेश सभामा १३ सिट भएको राप्रपाको कूल मतभार सात सय ८ मात्र छ भने नेमकिपाको एक सय ९७, हाम्रो नेपाली पार्टीको एक सय छ र स्वतन्त्र उम्मेदवारको १९ मतभार छ । ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक २ वर्षमा एक तिहाइ सदस्यको पदावधि सकिने र उनीहरूको ठाउँमा नयाँ चयन हुने व्यवस्था छ ।
सोही क्रममा अहिले राष्ट्रिय सभाका १९ सदस्य पद रिक्त हुन लागेको हो । तीमध्ये १८ जना निर्वाचनका माध्यमबाट राष्ट्रियसभा सदस्य भएका हुन् भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका हुन् । सोही अनुसार रिक्त हुने पदमा पूर्तिका लागि १८ जना निर्वाचनका माध्यमबाट र एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन् ।२०७२ सालमा जारी नेपालको संविधानले प्रतिनिधिसभा र राष्ट्रियसभालाई संघीय व्यवस्थापिकाको व्यवस्था गरी यसलाई संघीय संसद्को रूपमा नामकरण गरेको छ । प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक प्रणालीबमोजिम एक सय १० गरी कूल दुई सय ७५ जना रहने व्यवस्था गरेको छ ।
यस्तै, राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट समानुपातिक आधारमा आठ जना गरी ५६ जना र राष्ट्रपतिबाट मनोनित एक महिला सहित तीन जना गरी ५९ जना रहने व्यवस्था छ । राष्ट्रियसभाका सदस्यको पदावधि ६ वर्षको हुने संविधानमै उल्लेख गरिएको छ । राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ ।







