भीमफेदी कारागारमा ३९ प्रतिशत लागूऔषध मुद्दाका कैदीबन्दी
हेटौंडा-क्षेत्रीय कारागार भीमफेदीमा लागूऔषध मुद्दाका कैदीबन्दी धेरै रहेका छन् । कारागारमा रहेकामध्ये ३९ प्रतिशतभन्दा बढी कैदीबन्दी लागूऔषध मुद्दाका रहेको कारागार प्रमुखले जानकारी दिएका छन् । मकवानपुरको पूर्वसदरमुकाम भीमफेदीस्थित कारागारमा २२ पुस बिहानसम्म ९ सय ७७ कैदीबन्दी रहेका छन् । तीमध्ये लागूऔषध मुद्दाका ३ सय ८९ जना छन् । कारागारमा रहेका लागूऔषधका कैदीबन्दीमध्ये सबैभन्दा धेरै मकवानपुरका रहेको भीमफेदी कारागारका प्रमुख सुवास पौडेलले बताए । लागूऔषध मुद्दाका १५ जना भारतीय नागरिक पनि भीमफेदी कारागारमा रहेका छन् । मकवानपुरको बिकट क्षेत्रमा गरिएको गाँजाखेतीका कारण राक्सिराङ, कैलाश र मनहरी गाउँपालिकाभित्रका युवा बढी कारागार पुगेका छन् ।
कारागार पुगेका अधिकांश युवा भरियाका रुपमा लागूऔषध गाँजा ओसारपसारको अभियोग लागेका छन् । कारागारमा लागूऔषध मुद्दापछि जबरजस्तीकरणी मुद्दाका कैदीबन्दी रहेका छन् । कारागार प्रशासनका अनुसार २ सय ६९ जना कैदीबन्दी जबरजस्ती करणीका छन् भने कर्तव्य ज्यान मुद्दाका १ सय ४५ जना रहेका छन् ।भीमफेदी कारागारमा पुरुष कैन्दीबन्दी राख्ने २ वटा ब्लक छन् भने महिलालाई पुरानो जेलमा राखिएको छ । उनीहरुको साथ एक बालक पनि आश्रित छन् । भीमफेदी कारागारमा ३४ जना महिला कैदीबन्दी छन् ।
त्यसमध्ये १२ जना बन्दी र २२ जना कैदी रहेका छन् । यो कारागारमा ४४ जना विदेशी नागरिक छन् । तीमध्ये २२ जना कैदी र २२ बन्दी रहेका छन् । जेलमा रहेका ९ सय ७७ जना कैदीबन्दीमध्ये ६ सय ९४ जना कैदी रहेका छन् भने बाँकी थुनुवा रहेको कारागार प्रशासनले जनाएको छ ।







