हेटौंडा–१४ मा पहिलोपटक सोनाम ल्होछार आयोजना हुने

साझाकुरा
२०८२ पुष २५, शुक्रबार १२:००

हेटौंडा-तामाङ समुदायको बाहुल्यता रहेको हेटौंडा उपमहानगरपालिका–१४ मा माघ २४ गतेदेखि पहिलोपटक सोनाम ल्होछार तथा सांस्कृतिक प्रवद्र्धन मेला आयोजना हुने भएको छ । वडा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वडाअध्यक्ष दीपक खड्काले मेला आयोजना गर्न लागिएको जानकारी दिएका हुन् । वडाअध्यक्ष खड्काका अनुसार माघ २४ गतेदेखि सुरुहुने मेला करिब एक हप्तासम्म सञ्चालन हुनेछ । मेलाको व्यवस्थापन तथा तयारीका लागि आयोजक समिति गठन भइसकेको र आवश्यक तयारी तीव्ररुपमा अघि बढाइएको उनले जानकारी दिए ।

तामाङ समुदायको भाषा, संस्कृति, भेषभूषा तथा परम्पराको जगेर्ना गर्नुका साथै स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको जनाइएको छ । मेलाको सञ्चालनका लागि वडा कार्यालयले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सहरी क्षेत्रभन्दा बाहिर पनि सांस्कृतिक मेला आयोजना गर्न सकिने वातावरण सिर्जना गर्ने उद्देश्यले वडा नम्बर १४ लाई मेलास्थलका रुपमा छनोट गरिएको वडाअध्यक्ष खड्काले स्पष्ट पारे ।

मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ भने तामाङ समुदायको मौलिक संस्कृति झल्कने नृत्य, गीत तथा भेषभूषासहित तामाङ कलाकारले विशेष कार्यक्रम प्रस्तुत गर्ने आयोजकले जनाएको छ । आयोजक समितिका अध्यक्ष राजकुमार मोक्तानले संस्कृति संरक्षण र पुस्तान्तरणका दृष्टिले यो मेला कोसेढुंगा सावित हुने विश्वास लिइएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*