उम्मेदवारको मनोनयन दर्ता माघ ६ गते
हेटौंडा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावलाई लक्षित गर्दै मकवानपुरमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय औपचारिकरुपमा स्थापना गरिएको छ । निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थितरुपमा सम्पन्न गराउने उद्देश्यसहित कार्यालय स्थापना गरिएको हो । दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुर क्षेत्र नम्बर १ र क्षेत्र नं. २ को कार्यालय हेटौंडा–११ थानाभ¥याङस्थित प्रादेशिक कृषि थोकबजारमा कार्यालय स्थापना गरिएको हो । निर्वाचन कार्यसम्पादन गर्नको लागि मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायधीश गीता श्रेष्ठ र निर्वाचन अधिकृतमा जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका जिल्ला न्यायाधीवक्ता देवेन्द्रराज आचार्यलाई नियुक्त गरिएको छ । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ मा श्रेष्ठ र निर्वाचन क्षेत्र २ मा आचार्यलाई खटाइएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।
प्रदेश सरकारका प्रमुखसचिव बाबुराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मुख्य निर्वाचन अधिकृत श्रेष्ठ, हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामा, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, सुरक्षा निकायका प्रमुख, वडाअध्यक्ष जुना दाहाल, पत्रकार महासंघका अध्यक्ष बालकृष्ण अधिकारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुखअतिथि अधिकारीले मुलुक निर्वाचनको माहोलमा प्रवेश गरिसकेको उल्लेख गर्दै निर्वाचन सफल बनाउनुको विकल्प नरहेको बताए । प्रमुखसचिव अधिकारीले देशको राजनीतिलाई सही दिशामा लैजान निर्वाचन अपरिहार्य रहेको धारणा राखेका छन् ।
त्यस्तै, मुख्य निर्वाचन अधिकृत श्रेष्ठले विषम परिस्थितिमा निर्वाचन सफल बनाउन सबै निकाय र सरोकारवाला पक्षबीच सहकार्य आवश्यक रहेको बताइन् । निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले मिस इन्फर्मेसन र डिस इनफर्मेसनबाट जोगिन आग्रह गरिन् । निर्वाचनसँग सम्बन्धित सूचनाप्रवाह, शान्तिसुरक्षालगायतका विषयमा सत्यतथ्य र जिम्मेवार ढंगले समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गरिन् । निर्वाचन कार्यालयकाअनुसार उम्मेदवारको मनोनयनपत्र दर्ता माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ ।
मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन सोही दिन साँझ ५ बजेदेखि ७ बजेसम्म हुनेछ । उम्मेदवारको विरोधमा उजुरी माघ ७ गते बिहान १० बजेदेखि ३ बजेसम्म गर्न सकिने प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । त्यसैगरी मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम माघ ७ र ८ गते रहेको छ । उम्मेदवारको नामावली प्रकाशन माघ ८ गते साँझ ५ बजेदेखि ७ बजेसम्म छ भने उम्मेदवारको नाम फिर्ता लिने कार्यक्रम माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म रहेको छ ।
ढकालका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म र उम्मेदवारलाई निर्वाचनचिन्ह सोही दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म प्रदान गरिने कार्यालयले जनाएको छ । मतदान भने फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म रहेको छ ।मकवानपुरमा ३ लाख १५ हजार मतदाता, ३ सय ७४ मतदान केन्द्रकार्यालयका अनुसार मकवानपुरमा महिला १ लाख ५३ हजार ३ सय ७६, पुरुष १ लाख ६१ हजार ९ सय ५३ र अन्य ५ गरी कुल ३ लाख १५ हजार ३ सय ३४ मतदाता रहेका छन् । जसमध्ये क्षेत्र नं. १ मा ७८ हजार ८ सय १० महिला, ७९ हजार ६ सय २१ पुरुष र ४ जना अन्य गरी १ लाख ५८ हजार ४ सय ३५ मतदाता रहेका छन् भने क्षेत्र नं. २ मा ७४ हजार ५ सय ६६ महिला, ८२ हजार ३ सय ३२ पुरुष र १ जना अन्य गरी १ लाख ५६ हजार ८ सय ९९ जना मतदाता रहेका छन् ।
त्यसैगरी मकवानपुरमा १ सय ६७ मतदानस्थल र ३ सय ७४ मतदान केन्द्र रहेका छन् ।क्षेत्र नं. १ मा ६२ मतदानस्थल र १ सय ७८ मतदान केन्द्र एवम् क्षेत्र नं. २ मा १ सय ५ मतदानस्थल र १ सय ९६ मतदान केन्द्र रहेको कार्यालयले जनाएको छ । मकवानपुरका १९ मतदानस्थललाई अतिसंवेदनशील सूचिमा राखिएको छ । सुरक्षा संवेदनशीलताको
आधारमा जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा रहेका मतदानस्थल अतिसंवेदनशीलको सूचीमा परेका हुन् । जिल्लाभर रहेका कुल १ सय ६७ मतदानस्थलमध्ये १९ वटा अति संवेदनशील, ६० वटा संवेदनशील र ८८ वटा सामान्य श्रेणीमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।







