जुरिखेतमा कार दुर्घटना हुँदा ३ जना घाइते
हेटौंडा- मकवानपुरको जुरिखेतमा कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा शुक्रबार दिउँसो कार दुर्घटना हुँदा ३ जना घाइते भएका हुन् ।हेटौंडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–०२६ च ३८९० नम्बरको कार भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दिउँसो २ बजेको समयमा भएको दुर्घटनामा घाइतेलाई इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सन्तकुमार श्रेष्ठको टोलीले उद्दार गरेर उपचारका लागि पठाएको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायवउपरीक्षक पुष्कर बोगटीका अनुसार दुर्घटनामा कार चालकसहित ३ जना घाइते भएका छन् । घाइतेलाई तत्काल उद्दार गरी उपचारका लागि भीमफेदी अस्पताल पठाइएको छ । घाइतेको अवस्था सामान्य रहेको र दुर्घटनाग्रस्त कार घटनास्थलमै रहेको उनले बताए । दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब ४ किलोमिटर पूर्व–उत्तरमा पर्दछ ।







