काठमाडौं–हेटौंडा जोड्ने सडक स्तरोन्नति तीव्र

साझाकुरा
२०८२ माघ ५, आईतवार १०:४१

हेटौंडा- काठमाडौं–हेटौंडा जोड्ने सडक स्तरोन्नति तीव्र पारिएको छ । कान्ति राजपथ प्रमुख मार्ग बन्ने सम्भावना देखिएको छ । संघीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौंडा जोड्ने पाँच मुख्य सडक सञ्चालनमा छन् । ती सडकमध्ये काठमाडौं–मुग्लिन–हेटौंडा २३२ किलोमिटर, काठमाडौं–पालुङ–हेटौंडा १३६ किलोमिटर, काठमाडौं–सिस्नेरी–हेटौंडा ८५ किलोमिटर, काठमाडौं–फाखेल–हेटौंडा ८० किलोमिटर र टीकाभैरव–हेटौंडा–कान्ति राजमार्ग ९० किलोमिटर लामो छ ।

यी सडकमार्ग हुँदै हाल यात्रुले ३ देखि ८ घण्टासम्म यात्रा गर्नुपर्ने अवस्था छ । सहज आवतजावत र यात्रा समय घटाउन हाल पालुङ–हेटौंडा बाहेक अन्य चार सडकस्तरोन्नतिका क्रममा छन् । विशेषगरी कान्ति लोकपथ, काठमाडौं–फाखेल–कुलेखानी र काठमाडौं–सिस्नेरी–कुलेखानी सडकलाई तीव्रगति दिइएको छ । प्रदेश सरकारले निर्माण गरिरहेका कुलेखानी–फाखेल–काठमाडौं र कुलेखानी–सिस्नेरी–काठमाडौं सडक अन्तिमचरणमा पुगेका छन् । यी दुई सडकको करिब दुईतिहाई खण्ड एउटै भएपनि फर्पिङदेखि कुलेखानी सम्मको खण्ड अलगअलग मार्ग हुँदैछ । अन्यत्र सडक एउटै खण्डमा रहेको छ ।

हाल कुलेखानी–सिस्नेरी १९ दशमलब ९२ किलोमिटर सडकलाई दुई प्याकेजमा ठेक्का लगाइएको छ । काठमाडौंतर्फको ७ किलोमिटर र मकवानपुरतर्फको १२ किलोमिटर सडकको कुल लागत ४१ करोड ९१ लाख रुपैयाँ रहेको छ । मकवानपुर खण्डको काम गतवर्षै सम्पन्न भइसकेको छ । आयोजनाका इन्जिनियर समुन्द्र रोक्काका अनुसार काठमाडौं खण्डको भौतिक प्रगति ९२ प्रतिशत पुगेको छ । सल्लेनीडाँडा, माइतीखोला लगायत स्थानमा करिब १ किलोमिटर मात्रै कालोपत्रे बाँकी छ ।

कालोपत्रे सकिएका स्थानमा रङरोगन र अन्य सुसज्जित काम जारी छन् । ‘कुलेखानी–सिस्नेरी–काठमाडौं सडक दुई खण्डमा ठेक्का लगाइ स्तरोन्नति भइरहेको छ । मकवानपुर खण्डको काम गत वर्षै सम्पन्न भइसक्यो । काठमाडौं खण्डको अन्तिमचरणमा पुगेको छ । माघ मसान्तसम्म सकिन्छ,’ उनले भने । प्रदेश सरकारअन्तर्गत स्तरोन्नति गरिँदै आएको कुलेखानी–फाखेल–काठमाडौं सडकको अन्तिमचरणमा पुगेको छ । कलंकी–फाखेल–हुमाने १२ किलोमिटर सडकको भौतिक प्रगति ९९ प्रतिशत पुगेको छ ।आयोजना सबइन्जिनियर बलराम यादवका अनुसार निर्माणको सबै काम सकिसक्यो र थोरै स्थानमा मात्र रङरोगन बाँकी छ ।

यस सडकको लागत ३५ करोड ४८ लाख ८८ हजार ९१६ रुपैयाँ रहेको छ । ८ मिटर चौडाइको सडकमा ८ किलोमिटर खण्डमा कालोपत्र र ४ किलोमिटरमा ढलान गरिएको छ । महालक्ष्मी खोलामा १५ मिटर लामो आर्क ब्रिज निर्माणको काम ८० प्रतिशत सकिएको छ र फागुनसम्म सम्पन्न हुने अपेक्षा गरिएको छ ।

धमाधम स्तरोन्नति हु“दै कान्ति लोकपथ

कान्ति राजपथ हाल सञ्चालनमा रहेका सडकमध्ये भारी सवारी साधन पनि यात्रा गर्ने र काठमाडौं–तराई जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग हो । यस मार्गको ट्रयाक वि.सं. २०१३ सालमा राजा महेन्द्रले नेपाली सेनाको सहयोगमा खोल्न सुरु गरेका थिए । २०१६ सालमा ट्रयाक पूर्ण भएपछि राजा महेन्द्रले आफैंले जीप हाँकेर काठमाडौंबाट हेटौंडा आएका थिए ।

५ दशकसम्म प्राथमिकतामा नरहेको यो मार्गलाई २०५९ सालमा कोरियाली सरकारको सहयोगमा विस्तृत परियोजना तयार गरी स्तरोन्नति थालिएको थियो । सरकारले आर्थिक वर्ष २०६५÷६६ देखि कान्ति लोकपथ सडक आयोजना स्थापना गरी स्तरोन्नति सुरु गरेको हो । आर्थिक वर्ष २०७२÷७३ पछि मात्र यस सडकको स्तरोन्नति तीव्रता पाएर अघि बढेको छ । हाल दुई लेनको कान्ति लोकपथमा करिब २ किलोमिटर सडक अझै एक लेनको अवस्थामा छ । केन्द्र सरकारले १ अर्ब ६० करोड लगानीमा चार प्याकेजमा ठेक्का लगाएर सडक सुधार, मोड सुधार, कालोपत्र, पहिरो नियन्त्रण र पुल निर्माणकार्य तीव्रगतिमा गर्दैछ ।

ललितपुरको टीकाभैवरदेखि बगुवासम्म २० किलोमिटर सडक स्तरोन्नतिका लागि कन्काई–ब्राइट मल्टी–दिव्यज्योति जेभीले ९१करोड ८४ लाख रुपैयाँमा ठेक्का पाएको छ ।
टीकाभैवर–बगुवा खण्डको भैँसेखोला, बिर्खेखोला र तीनपानेमा पहिरो नियन्त्रणका लागि छुट्टै ठेक्का लगाइएको छ । यसमा न्यू टेक्निकल इन्फ्रा प्रालिले २१ करोड ४८ लाख रुपैयाँमा ठेक्का पाएको छ । बगुवा–हेटौंडा बुद्धचोकसम्मको ५० किलोमिटर खण्डमा पनि सडक स्तरोन्नति र फराकिलो बनाउन ठेक्का भइसकेको छ । टार्खुचे–ठिंगन खण्ड ६ किलोमिटरको सडक फराकिलो बनाउन १८ करोड रुपैयाँको ठेक्का भएको छ ।

‘बगुवा–बुद्धचोकको विभिन्न स्थानमा साँघुरो छ । ती स्थानमा मोड कटान, रिटेनिङ वाल लगाई दुई लेनको बनाउने गरी ठेक्का लगाइएको छ,’ उनले भने, ‘हाल धमाधम काम
भइरहेको छ । भौतिक प्रगति ३० प्रतिशत पुगेको छ ।’ यसको ठेक्का रेड अर्थ–प्रकाश तारा जेभीले १८ करोड १ लाख रुपैयाँमा पाएको छ । यसको काम डेढ वर्ष (२०८३ कात्तिक १८ गते) भित्र सक्नुपर्नेछ । २०८१ असोजमा आएको बाढीले बगाएको पुल निर्माणका लागि छुट्टै ठेक्का लगाइएको छ । पुल निर्माणको ठेक्का केएम इन्जिनियर्स बिल्डर्सले १८ करोडमा लिई काम सुरु गरेको छ ।

हेटौंडाक्षेत्रमा फुटपाथ निर्माण पनि सम्पन्न भइसकेको छ । बगुवा–घट्टेपाखा क्षेत्रमा पहिरो नियन्त्रणका लागि चालु आवमा २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।सडक स्तरोन्नति र निर्माणको तीव्रतासँगै काठमाडौं–हेटौंडा आवतजावत सहज, सुरक्षित र छोटो समयमै सम्पन्न हुने अपेक्षा गरिएको छ । कान्ति राजमार्ग प्रमुखमार्ग बन्दै गएको यस परियोजनाले प्रदेश र संघीय राजधानी बीचको सम्बन्ध थप मजबुत बनाउने र यातायात व्यवस्थापनमा उल्लेखनीय सुधार ल्याउने विश्वास गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*