जनकल्याण माविमा १३ सदस्यीय एल्मुनाइ गठन
हेटौंडा- मकवानपुरकै तेस्रो जेठो माध्यमिक विद्यालयकारुपमा परिचित जनकल्याण माध्यमिक विद्यालयमा सम्पन्न पूर्वविद्यार्थीको भेलाले यादवजंग रायमाझीको अध्यक्षतामा १३ सदस्यीय जनकल्याण एल्मुनाइ एसोसिएसन गठन गरेको छ ।नवगठित एसोसिएसनको उपाध्यक्षमा विजयविक्रम श्रेष्ठ, सचिवमा विक्रम गोपाली, सहसचिवमा मञ्जरी अधिकारी र कोषाध्यक्षमा कमला अधिकारी चयन भएका छन् । त्यसैगरी सदस्यमा हरिकृष्ण कार्की, शम्भु अधिकारी, नवीन रायमाझी, गगन श्रेष्ठ, राजकुमार मोक्तान,बिरोध रायमाझी, पूर्णिका कार्की र नारायण तामाङ रहेका छन् । एल्मुनाइका अध्यक्ष निरञ्जन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरउपप्रमुख समेत रहेका पूर्वविद्यार्थी भरत गोपालीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विद्यालयका पूर्वप्रधानाध्यापक सानोभाइ कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजीवकुमार स्याङ्तान, शिक्षक अभिभावक संघका अध्यक्ष नवराज कार्की, वर्तमान प्रधानाध्यापक रामकुमार बल, पूर्वशिक्षकहरु, एसोसिएसनका पूर्वपदाधिकारी तथा उल्लेख्य संख्यामा पूर्वविद्यार्थीको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुखअतिथि उपप्रमुख गोपालीले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै ज्ञान, अनुभव र स्रोतसाधनको उपयोगमार्फत् विद्यालयलाई थप सुदृढ बनाउन एल्मुनाइ एसोसिएसनले अग्रणी भूमिका खेल्नुपर्ने बताए ।
उनले पूर्वविद्यार्थी र विद्यालयबीचको सम्बन्ध मजबुत हुँदा शिक्षाको गुणस्तर, भौतिक पूर्वाधार र विद्यार्थीको समग्र विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । भेलाले नवगठित एल्मुनाइ एसोसिएसनमार्फत् विद्यालयको शैक्षिक, सामाजिक तथा संस्थागत विकासमा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।







