मिडियाप्रतिको विश्वासनीयतामा क्षयीकरण हुँदैछः सदस्य बिडारी

साझाकुरा
२०८२ माघ ६, सोमबार ११:४५

हेटौंडा-प्रेस काउन्सिलका सदस्य सन्तराम बिडारीले मिडियाप्रतिको विश्वासनीयतामा क्रमशः क्षयीकरण भइरहेको बताएका छन् ।नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा आइतबार भएको पत्रकार र पत्रकारिताको समसामयिक विषयमा भएको अन्तरक्रिया कार्यक्रममा उनले यो कुरा बताएका हुन् । मिडियाप्रतिको विश्वासनीयता कसरी बढाउन सकिन्छ भन्ने चिन्ता काउन्सिलको मात्र नभई समग्र सञ्चारकर्मीको हुनुपर्ने उनको भनाई छ । सदस्य बिडारीले मिडिया हाउसले पनि मुल आचारसंहितामा असर नपर्ने गरी आफ्नो छुट्टै आचारसंहिता बनाउनु पर्ने बताए । समाजमा अहिले पत्रकारले आफ्नो परिचय नै लुकाएर हिड्नुपर्ने दुःखदायी अवस्था भएकोले त्यसतर्फ पत्रकार महासंघ, मिडिया हाउसहरु सचेत हुनुपर्नेमा उनले जोड दिए ।

सदस्य बिडारीले काउन्सिल पत्रकारको मात्र नभई नागरिकको पिरमर्का सुन्ने संस्था समेत भएको बताए । पत्रकार र नागरिकलाई परेको मर्कालाई फोकल पर्शन मार्फत् काउन्सिललाई अवगत गराउन सकिने उनले जानकारी दिए । सदस्य बिडारीले फागुन २१ गतेको निर्वाचनलाई लक्षित गर्दै काउन्सिलले समाचारको कन्टेन्टमा अनुगमन गर्ने बताए । निर्वाचन आयोगको आचारसंहिता र काउन्सिलको पनि आचारसंहितालाई ख्याल गरी रिर्पोटिङ गर्न उनले आग्रह गरेका छन् । सदस्य बिडारी पछिल्लो समय पत्रकार आचारसंहितालाई पनि समयानुकुल संशोधन गर्नुपर्ने आवश्यकता देखिएको बताए ।

मिडियाका आयाम फराकिलो हुँदै गइरहेको उल्लेख गर्दै उनले सामाजिक सञ्जालले पत्रकारितामा चुनौती थपिँदै गएको उल्लेख गरे । सामाजिक सञ्जालमा आउने कन्टेन्टले समाजलाई सुसूचित नभई कुसूचित बनाइरहेकोले त्यसतर्फ मुलधारका मिडियाहरु जिम्मेवार ढंगले अगाडि बढ्नुपर्ने उनको धारणा थियो । अन्तरक्रिया कार्यक्रममा सहभागीले पत्रपत्रिकाको वर्गीकरणमा काउन्सिलले राजनीतिक पूर्वाग्रह राख्न नहुने बताएका थिए । लोककल्याणकारी विज्ञापनको रकम पनि बृद्धि गर्नु पर्नेमा उनीहरुको जोड थियो । महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष भानुभक्त आचार्य, जिल्ला उपाध्यक्ष धु्रव अधिकारी, महासंघका बागमती प्रदेश सदस्य सुर्वणलाल श्रेष्ठलगायतका सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*