बाख्रा दिवसमा मन्त्रीले बाख्रालाई माला लगाए
हेटौंडा, ४ माघ÷पाँचौ राष्ट्रिय वाख्रा दिवसको अवसरमा आइतबार हेटौंडामा बाख्रालाई माला लगाएर दाना खान दिइएको छ ।हेटौंडा उपमहानगरपालिका–३ सिमलथली एग्रो प्रा.लिमा आयोजित कार्यक्रमका प्रमुखअतिथि एवम् बागमती प्रदेशका कृषि तथा पशुपन्क्षी विकास मन्त्री मधुसुदन पौडेलले एग्रो प्रालिका बाख्रालाई सयपत्री फूलको माला लगाएर कार्यक्रमको उदघाटन गरेका हुन् । खोरमा रहेका बाख्रालाई मन्त्री पौडेललगायत कार्यक्रमका सहभागीले दानाखान दिएका थिए । एग्रो प्रालिमा साना ठुला गरेर उन्नत जातका ९ सय भन्दावढी वाख्रा रहेका छन् ।
बाख्रा दिवसको अवसरमा मन्त्री पौडेलले बाख्रापालन क्षेत्रमा रहेका समस्यालाई समाधान गर्न प्रदेश सरकार प्रयत्नशील रहेको बताए । व्यावसायिक बाख्रापालन नेपालीको शान, मासुमा आत्मनिर्भर हाम्रो अभियान भन्ने मुलनारा रहेको पाचौ राष्ट्रिय बाख्रा दिवसका अधिकांश सहभागीले चिकित्सकले रातो मासु खान हुँदैन भनेर सल्लाह दिने गरेकाले उत्पादित खसी वोका विक्री गर्न समष्या परेको गुनासो गरेका थिए । नेपाल व्यावसायिक वाख्रापालन महासंघका केन्द्रीय अध्यक्ष गोविन्द सुवेदीको अध्यक्षतामा संचालित कार्यक्रममा मन्त्रालयका सचिव वैकुण्ठ अधिकारीलगायतले बोलेका थिए । मकवानपुरमा ४२ वटा बाख्रा फार्म रहेका छन् ।







