भयमुक्त वातावरणमा निर्वाचन हुन्छःआयुक्त भण्डारी

साझाकुरा
२०८२ माघ ७, मंगलवार १०:०७

हेटौंडा- कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा हुने बताएका छन् ।मनोनयन दर्ताको पूर्वसन्ध्यामा सार्वजनिक अपिल गर्दै उनले निर्वाचनको विकल्प निर्वाचन नै भएकाले निर्वाचनमा सबै क्षेत्रबाट सहयोग प्राप्त हुने अपेक्षा गरेको उल्लेख गरे । निर्वाचन घोषणा भएसँगै आयोगले कार्यसम्पादन गर्नुपर्ने विषयलाई कार्यतालिका बनाई अघि बढेको उल्लेख गर्दै उनले भनेका छन्, ‘कार्यतालिका बनाएर थुप्रै कार्यसम्पादन गरेर अब भोलि अर्थात् माघको ६ गते जो–जो चुनिन चाहनुहुन्छ उहाँहरुको मनोनयनपत्र दाखिल गर्ने समय आएको छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन हुँदैछ ।’

कावा प्रमुख निर्वाचन आयुक्त भण्डारीले आचारसंहिता लागू भएको अवगत गराउँदै यी सबै कार्यक्रम चार महिना अगाडि प्रकाशित भएको कार्यतालिकाअनुसार कार्यसम्पादन भइरहेको बताए । ‘अब कुनैपनि विषयवस्तुलाई संशोधन गर्ने थप्ने घटाउनेलगायत काम हुँदैनन् । तोकिएकै समयमा मनोनयनपत्र दाखिल हुन्छ र निर्वाचन सम्पन्न हुन्छ, आयोग यसैमा ढुक्क छ’, उनले बताए । आयोगले निर्धारण गरेको निर्धारित समयभित्र मनोनयनपत्र दाखिल हुनुपर्ने र दाखिला भइसकेपछि जाँचबुझ गर्नेलगायत कानुनी प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।

उनले निर्वाचनका विषयमा अदालतले आदेश गरिसकेपछि त्यो सबैले मान्नुपर्ने उल्लेख गर्दै आयोगले अदालतमा रहेको विषयवस्तुलाई अहिले विश्लेषण गरेर यो हुन्छ र त्यो हुन्न भनेर भन्न नमिल्ने स्पष्ट पारे । ‘मनोनयनपत्र दाखिला गर्नुपर्ने उम्मेदवार मनोनयनस्थल पुग्न सक्नुभएन भने आफ्नो वारेसमार्फत् मनोनयन दाखिला गर्ने कानुनले व्यवस्था दिएकै छ । हामीले विभिन्न निर्देशिकामार्फत यसको जानकारी गराएका छौँ’, आयुक्त भण्डारीले भनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*