ज्ञानदीपले रजत महोत्सव २०८२ मनाउने

साझाकुरा
२०८२ माघ ७, मंगलवार १०:१२

हेटौंडा- ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था र ज्ञानदीप शिक्षा निकेतन माध्यमिक विद्यालयले ज्ञानदीप रजत महोत्सव २०८२ मनाउने भएको छ ।सहकारी एवम् विद्यालयको २५ औं वार्षिकोत्सवको अवसरमा रजत महोत्सव मनाउन लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । माघ ८ गतेदेखि १८ गतेसम्म विभिन्न कार्यक्रम गरी महोत्सव मनाइने सहकारीका सचिव लिलानाथ ढुंगेलले जानकारी दिएका छन् । सचिव ढुंगेलका अनुसार माघ ८ गते जिल्लास्तरीय छात्रा बुद्धिचाल प्रतियोगिता, ९ र १० गते हेटौंडा उपमहानगरपालिकास्तरीय छात्र भलिबल प्रतियोगिता, १० गते नै नगरस्तरीय विद्यार्थी हाजिरीजवाफ प्रतियोगिता हुनेछ ।

अभिभावक एवम् शेयर सदस्यबीच युगल ब्याडमिन्टन प्रतियोगिता माघ ९ र १० गते, नगरस्तरीय स्थलगत चित्रकला र स्थलगत निबन्ध लेखन प्रतियोगिता माघ ९ गते, माघ ११ गते ज्ञानदीप समुदाय सहयोग कार्यक्रम र १८ गते रक्तदान कार्यक्रम गरिने सचिव ढुंगेलले जानकारी दिए । विद्यालयले माघ ११ गतेदेखि १४ गतेसम्म विद्यालयको प्राङगणमा ज्ञानदीप खेलकुद सप्ताह गर्ने भएको छ । महोत्सवको समुद्घाटन माघ १६ गते बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्नेछन् । माघ १७ गते सांस्कृतिक कार्यक्रम र १८ गते समापन समारोह हुनेछ ।

१ हजार ४ सय ९० जना विद्यार्थी अध्ययनरत् यस विद्यालयले रजत महोत्सवको अवसरमा सम्पूर्ण विद्यार्थीलाई ज्ञानदीप रजतबाट सम्मान गरिने सचिव ढुंगेलले बताए । कार्यक्रमको अनुमानित खर्च २१ लाख रुपैयाँ छ । ज्ञानदीप सहकारीका अध्यक्ष ऋषिराम पोखरेलको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रमिला सापकोटा, विद्यालयका प्रिन्सिपल ईश्वर लामिछाने, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो । सहकारीमा हाल ५ सय ७८ जना शेयरसदस्य छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*