६५ जना कन्याको बेल बिवाह हुने
हेटौंडा-नेवारी समुदायको प्राचीन संस्कृति र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित हेटौंडामा सामूहिक सुवर्णकुमार बेल विवाह कार्यक्रम आयोजना हुने भएको छ ।इहि यज्ञ सुवर्णकुमार वेल विवाह गुठी हेटौंडाको आयोजनामा आगामी माघ ९ र १० गते श्रीपञ्चमीको शुभ साइतमा कार्यक्रम गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यसवर्ष ६५ जना कन्या सहभागी हुने गुठीका अध्यक्ष हरिश्चन्द्र श्रेष्ठले जानकारी दिए । गुठीले न्यूनतम शुल्कमा कन्यालाई विधिवत् पूजामा समावेश गर्दै आएको छ । असहाय परिवारका कन्याको सम्पूर्ण खर्च समेत गुठी परिवारले व्यहोर्दै आएको छ । यस गुठीको २०८२ साल साउन ११ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरमा विधिवत दर्ता भई विधान स्वीकृत भएको छ ।
हाल गुठीमा १७ जना आजीवन सदस्य, २२ जना साधारण सदस्य तथा ३ जना सल्लाहकार रहेका छन् । २०२९ सालमा उपत्यका बाहिर पहिलोपटक हेटौंडामा इही यज्ञ कार्यक्रम सुरु भएको हो । स्वर्गीय विकुलाल तौजले र स्वर्गीय प्रेमलाल श्रेष्ठले इही हेटौंडामा सुभारम्भ गर्नुभएको गुठीले जनाएको छ । यो संस्कार मल्लकालीन सभ्यता तथा देवी शक्तिमा आधारित पारम्परिक विधिअनुसार सम्पन्न गरिने गरिन्छ । उपत्यकाबाट आमन्त्रण गरिएका नेवारी समुदायका ब्राह्मण, बज्राचार्य, कर्माचार्य, जोशी, सेवाचार्य, पूजारी तथा पण्डितमार्फत विधिपूर्वक पूजा सम्पन्न हुने परम्परा छ ।
यस संस्कारअनुसार नाबालिकालाई कहिले नकुहिने बेलसँग विवाह गर्ने गरिन्छ । वेल विवाह गरेपछि कहिल्यै सिन्दुर पुछ्नु नपर्ने तथा बिधुवाको रुपधारण गर्नुनपर्ने प्रचलन नेवार समुदायमा रहेको छ । यसवर्षको कार्यक्रम पालोवाला गुठियार तथा आजीवन सदस्य यसकुमार श्रेष्ठको संयोजनमा आयोजना हुने गुठीले जानकारी दिएको छ ।







