मकवानपुरमा प्रतिनिधिसभा सदस्यमा ४४ को उम्मेदवारी दर्ता
हेटौंडा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा प्रत्यक्षतर्फ ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार हेटौंडा–११ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई उम्मेदवारी दर्ता गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र नम्बर १ बाट १३राजनीतिक दलका उम्मेदवार र १० जना स्वतन्त्र गरी कुल २३ जनाको उम्मेदवारी परेको छ । यसक्षेत्रमा नेपाली काँग्रेसबाट महालक्ष्मी उपाध्याय ‘डना’, नेकपा एमालेबाट रामेश्वर राना, नेपाली कम्युनिष्ट पार्टीबाट विजय गौतम तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपकबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश गौतम, श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठ, उज्यालो नेपाल पार्टीबाट सुरेन्द्र लामा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट तेजप्रसाद उप्रेती, नेपाल मजदुर किसान पार्टीबाट रञ्जना सुवाल, नेकपा माओवादीबाट महेश नेपाली, जनता समाजवादी पार्टीबाट रुपक लामा, एकल निर्वाचन चिन्हसहित जनता समाजवादी पार्टीबाट दीपक सिलवाल, नेशनल मंगोल अर्गनाइजेशनबाट युवराज स्याङतानले उम्मेदवारी दिएका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ बाट अमर दंगाल, अमिक परिवार, टीकाप्रसाद चौंलागाईं, प्रमिलाकुमारी खतिवडा, मिठु पुलामीमगर, राकेशकुमार शर्मा, राजकुमार खड्का, राजाराम बोगटी, शिला सुवेदी र ज्ञानसागर लामाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, प्रतिनिधिसभा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट १६ राजनीतिक दलका उम्मेदवार र ५ जना स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस क्षेत्रमा नेपाली काँग्रेसबाट जिल्ला पार्टी सभापति समेत रहेका बुद्ध लामा, नेकपा एमालेबाट महेश वर्तौला र नेकपाबाट लवशेर विष्टले उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामबहादुर थोकर, श्रम संस्कृति पार्टीबाट युनिश लामा स्याङतान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रशान्त उप्रेती, उज्यालो पार्टी नेपालबाट प्रवीणकुमार स्याङतान, राष्ट्रिय जनमोर्चाबाट निरबहादुर सिन्तान, प्रलोपा पार्टीबाट सन्तोष विष्ट, नेशनल मंगोल अर्गनाइजेशनबाट हीरालाल स्याङतान, नेपाल मजदुर किसान पार्टीबाट सरोज तामाङ, नेकपा माओवादीबाट राम घलान ‘वाटर’ तथा संयुक्त नागरिक पार्टीबाट शुभराज प्रजाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, आमजनता पार्टीबाट सूर्य राई र जनता समाजवादीबाट छविलाल वाइबाले एकल चुनावचिन्ह लिएर उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर २ बाट अमृत बल, कृष्णाराम श्रेष्ठ, प्रतिक्षा बानियाँ, रमेश आचार्य र सीतामाया बल समेत ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उम्मेदवारको विरोधमा उजुरी माघ ७ गते बिहान १० बजेदेखि ३ बजेसम्म गर्न सकिने प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।
त्यसैगरी मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम माघ ७ र ८ गते रहेको छ । उम्मेदवारको नामावली प्रकाशन माघ ८ गते साँझ ५ बजेदेखि ७ बजेसम्म छ भने उम्मेदवारको नाम फिर्ता लिने कार्यक्रम माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म रहेको छ । ढकालका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते ३ बजेसम्म र उम्मेदवारलाई निर्वाचन चिन्ह सोही दिन साँझ ७ बजेसम्म प्रदान गरिने कार्यालयले जनाएको छ । मतदान भने फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म रहेको छ ।
मकवानपुरमा ३ लाख १५ हजारभन्दा बढी मतदाता
प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरमा ३ लाख १५ हजारभन्दा बढी मतदाताले मतदान गर्नेछन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार मकवानपुरमा कुल मतदाता संख्या ३ लाख १५ हजार ३३४ कायम रहेको छ ।निर्वाचन कार्यालयका सूचनाअधिकारी ताराप्रसाद आचार्यका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ पछि मकवानपुरमा १४ हजार ६०१ जना मतदाता थपिएका छन् । सबैभन्दा धेरै मतदाता हेटौंडा उपमहानगरमा ७ हजार १६३ थप भएका छन् । मनहरी गाउँपालिकामा एक हजार ४६८, थाहा नगरपालिकामा एक हजार ४१५ मतदाता थपिएका छन् भने बकैया गाउँपालिकामा ८१७, बागमती गाउँपालिकामा ८४०, मकवानपुरगढी गाउँपालिकामा ७५४ र भीमफेदी गाउँपालिकामा ६९३ मतदाता थपिएका छन् ।
त्यस्तै, इन्द्रसरोवर गाउँपालिकामा ३७३, कैलाश गाउँपालिकामा ३६३ र राक्सिराङ गाउँपालिकामा २३५ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ । मतदाता संख्या वृद्धि भएसँगै जिल्लामा मतदान केन्द्र पनि थप गरिएको छ । मतदानस्थल भने साविककै कायम राखिए पनि मतदान केन्द्र १० वटा थप गरिएको सूचनाअधिकारी आचार्यले जानकारी दिए । मतदाता विवरण अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४३५ र निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख ५६ हजार ८९९ मतदाता रहेका छन् ।
जिल्लाभर कुल मतदाता मध्ये महिला एक लाख ५३ हजार ३७६, पुरुष एक लाख ६१ हजार ९५३ र अन्य ५ जना रहेका छन् । अद्यावधिक तथा दाबीविरोधको क्रममा निर्वाचन कार्यालयले मतदाता सूचीबाट ८८४ नाम हटाएको छ । मृत्यु भएका २१ जना मतदाता तथा दोहोरो नाम रहेका ६८३ जनाको नाम सूचीबाट हटाइएको कार्यालयले जनाएको छ ।







