फास्ट ट्रयाकमा बनिरहेका धरहरा जस्तै अग्ला पुल सामाजिक संजालमा भाइरल

साझाकुरा
२०८२ माघ ८, बुधबार ११:३३

हेटौंडा-राष्ट्रिय गौरवको आयोजना काठमाडौं तराई–मधेश दु्रतमार्ग (फास्ट ट्रयाक) को ७१ किमि खण्डमा झण्डै एकतिहाई (३३.६२ प्रतिशत) खण्डमा सुरुङ र पुल निर्माण भइरहेका छन् ।फास्ट ट्रयाकमा सुरुङ र पुलको कुल लम्बाइ २३.८६४ किलोमिटर रहेको छ । जसमा कुल १०.९७९ किमि लम्बाइका ७ वटा सुरुङ र १२.८८५ किमि लम्बाइका ८९ वटा पुल निर्माण भइरहेका छन् । फास्ट ट्रयाकको कुल लम्बाइमा पुलको मात्रै हिस्सा १८.१५ प्रतिशत रहेको छ । औसतमा हरेक ७९७ मिटरमा एउटा पुल बनिरहेको छ । यस सडकमा विदेशका जस्तै आकर्षक र आधुनिक पुल निर्माण भइरहेका हुन् ।

फास्ट ट्रयाकमा ठूला नदी नभएपनि अग्ला डाँडा र गहिरो खोँच रहेकाले दूरी छोट्याउन अग्ला पुल निर्माण गरिएको हो । यो सडक अन्तर्राष्ट्रिय मापदण्डअनुसारको एक्सप्रेस ‘वे’ हो । त्यसैले द्रुतगतिमा सवारी चलाउन मिल्ने गरी घुमाउरो र गहिरो ठाउँमा अग्ला र लामा आधाुनिक पुल निर्माण भइरहेको हो ।नेपाली सेनाका सूचना अधिकारी (सहायकरथी) राजाराम बस्नेतले फास्ट ट्रयाकमा ८९ वटा पुल निर्माण भइरहेको जानकारी दिए ।

उनका अनुसार सबै पुलको ठेक्का लागेर धमाधम काम भइरहेको छ । ‘फास्ट ट्रयाकमा ८९ वटा पुल निर्माण भइरहेका छन् । ८५ वटाको पहिला नै ठेक्का लगाइएको थियो । ४ वटा चालु आवमा ठेक्का लगाइ अहिले काम सुरु भइसकेको छ,’ उनले भने । उनकाअनुसार ८९ पुलमध्ये हालसम्म ९ वटा निर्माण सम्पन्न भइसकेका छन् । चालु आवमा ठेक्का लगाइएका ४ बाहेक अरु अधिकांश पुलको फाउन्डेसनको काम सकेर सुपरस्ट्रक्चरको काम भइरहेको उनले बताए ।

‘यसवर्ष ठेक्का लगाइएका चार बाहेक अधिकांश पुलको फाउन्डेसनको काम सकिएको छ । पिलर ठड्याइसकिएको छ । सुपरस्ट्रक्चरको काम धमाधम भइरहेको छ,’ उनले भने । फास्ट ट्रयाकमा निर्माण हुने अग्ला पुलले सडकको दूरी र यात्रा अवधि छोट्याउनुका साथै, पहिरोको जोखिम कम गरी वातावरणीय क्षति घटाउने उनको भनाइ छ । चार लेनको फास्ट ट्रयाकको पहाडी क्षेत्रको हरेक स्थानमा समानान्तर पुल निर्माण भइरहेका छन् । अधिकांश ठाउँमा जाने र आउने सवारीका लागि छुट्टाछुट्टै २÷२ लेनको पुल निर्माण गरिएको हो । फास्ट ट्रयाकमा निर्माण भइरहेकका पुल १०० वर्षभन्दा धेरै टिक्ने गरी बनाइएको छ ।

फास्ट ट्रयाक काठमाडौं, ललितपुर मकवानपुर र बारा गरी चार जिल्लामा पर्दछ । जसमा मकवानपुरखण्डको भूवनोट अग्ला पहाड र गहिरो खोँच रहेको छ । अधिकांश अग्ला पुल मकवापुरखण्डमै निर्माण भइरहेको हो । सूचना अधिकारी बस्नेतका अनुसार मकवानपुरको बकैया र भीमफेदी गाउँपालिकाको विभिन्न ठाउँमा ४० मिटर अग्ला १० वटा पुल निर्माण भइरहेका छन् । बकैया गाउँपालिका–११ लेनडाँडामा फास्ट ट्रयाककै अग्लो पुल निर्माण अन्तिमचरणमा पुगेको छ । धेद्रे र लेनडाँडा सुरुङलाई जोड्न जीतपुर खोलामाथि ८२ मिटर अग्लो पुल अन्तिमचरणमा पुगेको हो ।

यो पुल २४५ मिटर लामो छ । यो पुलको उचाइ झण्डै धरहराको जत्ति नै हो । धरहराको जमिनदेखि गजुरसम्मको उचाइ ८३.८५ मिटर अग्लो छ । यो पुलको सुपरस्ट्रक्चर काम लगभग सकिन लागेको उनले बताए । अहिले रेलिङ राख्ने काम भइरहेको उनको भनाइ छ । मकवानपुरको भीाफेदी गाउँपालिका–महादेवटारमा ६८ मिटर अग्लो ४०४ मिटर लामो र ४१ मिटर अग्लो ४३० मिटर लामो पुल निर्माण भइरहेको छ । यी दुवै पुलको सुपरस्ट्रक्चरको काम सकेर पियरको निर्माण भइहरेको छ ।

धेद्रे सुरुङतर्फ जाने चालिसे खोलामाथि निर्माण गरिएका दुवै पुल सम्पन्न भइसकेका छन् । बकैया गाउँपालिका–११ लेनडाँडामै ५४.१५ र ४३.५ मिटर अग्लो पुल निर्माण सम्पन्न भइसकेको उनले बताए । यी पुलको लम्बाइ क्रमशः ३३३ मिटर र २७० मिटर छ । बकैया गाउँपालिका–२ सरस्वतीगाउँमा ४१ मिटर अग्लो ४२५ मिटर लामो पुल निर्माणाधीन छ । यसको डेक स्ल्याब (गाडी गुड्ने सतह) निर्माण भइरहेको छ । सोही ठाउँमा २५० मिटर लामो ४२ मिटर अग्लो पुल निर्माण भइरहेको छ । यसको पियर निर्माणको चरणमा रहेको छ ।

बकैया गाउँपालिका–५, दहिदमारमामा ४९ मिटर उचाइको २४० मिटर लामो पुल बनिरहेको छ । यसको पाइलको काम सकिएको छ । सोही ठाउँमा ४५ मिटर उचाइको ५३० मिटर लामो पुल निर्माण सुरु गरिएको छ । यसको पाइलको काम सुरु भएको छ । मकवानपुको भीमफेदी–८ सिस्नेरीमा ५५ मिटर अग्लो पुल बन्दैछ । ५८० मिटर लामो यो पुलको पाइल निर्माणको काम भइरहेको छ । फास्ट ट्रयाकमा बनिरहेका अग्ला पुल हाल सामाजिक संजालमा समेत भाइरल बनिरहेका छन् ।

कुल ७०.९७७ किलोमिटर लम्बाइको फास्ट ट्रयाकलाई समष्टिगत कार्ययोजनाअनुसार १३ वटा प्योकजमा छुट्याइएको छ । जसमा १२ प्याकेजको ठेक्का लागेर धमाधम काम भइरहेको छ । प्रस्थानबिन्दु खोकना–डुकुछाप (प्याकेज नं. ११) खण्डको ठेक्का लाग्न बाँकी रहेको सूचना अधिकारी बस्नेतले जानकारी दिएका छन् । यसखण्डमा स्थानीयको विरोध र मुआब्जा विवादका कारण ठेक्का लाग्न सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*