अन्तर्राष्ट्रिय डेरी एक्स्पो माघ २ ५–२९ गतेसम्म भरतपुरमा हुने
हेटौंडा- दुग्धजन्य उत्पादनको व्यवसायिकता प्रवद्र्धन, किसानलाई प्रोत्साहन, डेरी उद्योगमा आधुनिक प्रविधिको प्रयोग र उद्यमशीलताको दिगो विकास गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ आयोजना हुने भएको छ ।चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिको संयुक्त आयोजनामा गत वर्षदेखि सुरु भएको डेरी एक्स्पो यसपटक अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरिएको हो । ‘डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि’ भन्ने नाराकासाथ एक्स्पो २०८२ माघ २५ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले नेपालको दुग्धक्षेत्र आर्थिक, सामाजिक तथा पोषणीय दृष्टिले महत्वपूर्ण भएपनि विभिन्न चुनौतीको सामना गरिरहेको अवस्थामा डेरी एक्स्पोले साझा मञ्च प्रदान गर्ने बताए ।
उनका अनुसार एक्स्पोले नयाँ प्रविधि र नवप्रवर्तनको प्रदर्शनी, बजार विस्तार, ब्रान्ड प्रवद्र्धन, व्यावसायिक नेटवर्किङ, लगानी आकर्षण, गुणस्तर सुधार, महिला तथा युवा सहभागिता वृद्धि, साथै दुग्धजन्य उत्पादनको व्यापार र निर्यात प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्य लिएको छ । एक्स्पोका मुख्य उद्देश्यमा डेरी उत्पादन, प्रशोधन र वितरण प्रणालीका नवीनतम प्रविधिको प्रवद्र्धन, किसान–उद्योगी–व्यापारीबीच व्यावसायिक सञ्जाल विस्तार, उपभोक्तालाई डेरी उत्पादनको गुणस्तर र महत्वबारे जानकारी, नयाँ उत्पादनको लन्च तथा ब्रान्डिङ, साना किसानलाई तालिम र मार्गदर्शन, सहकारीलाई औद्योगिक उत्पादनतर्फ प्रेरित गर्नु रहेका छन् ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले पहिलो संस्करणको राष्ट्रिय डेरी एक्स्पोले दुग्धजन्य उत्पादनको विविधीकरणमा योगदान पु¥याएको र चितवनमा दैनिक१० हजार लिटरभन्दा बढी दूधखपत हुन थालेको जानकारीदिए । यसकारण एक्स्पोलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गरिएको उनले बताए । एक्स्पोमा डेरी प्रोसेसिङ तथा पशु आहारसम्बन्धी मेसिनरी र उपकरण, डेरीजन्य उत्पादन, सफ्टवेयर, प्याकेजिङ उद्योग, पशुपालन सामग्री, भेटेरिनरी सेवा, बैंक तथा बीमा, स्टार्टअप प्याभिलियनसहित एक सयभन्दा बढी स्टल रहनेछन् ।
प्रदर्शनीअवधिमा कार्यशाला, तालिम, बीटुबी बैठक, सफल किसान तथा उद्यमीका अनुभव आदानप्रदान, प्रत्यक्ष प्रदर्शन, फुड स्टल, नयाँ डेरी उत्पादन लन्च, युवालक्षित वक्तृत्वकला प्रतियोगिता, विज्ञ प्यानल छलफल तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिनेछ । सातै प्रदेशबाट एकएक जना उत्कृष्ट दुग्ध उत्पादक किसान÷उद्यमीलाई सम्मान गरिने, उत्कृष्ट गाई प्रदर्शकलाई पुरस्कार प्रदान गर्ने योजना छ ।
करीब ५० हजार अवलोकनकर्ता सहभागिता रहने अपेक्षा गरिएको एक्स्पोमा उद्योगी, किसान, नीति निर्माता, लगानीकर्ता, अनुसन्धानकर्ता, विद्यार्थी, बैंक तथा बीमा कम्पनीका प्रतिनिधिलगायत सरोकारवाला पक्षको सहभागिता रहने आयोजकले जनाएको छ । अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ सफल बनाउन संघ, प्रदेश तथा स्थानीय सरकार, दुग्ध विकाससम्बन्धी संघसंस्था, शैक्षिक संस्था, निजीक्षेत्र तथा सहकारीसँग समन्वय भइरहेको आयोजकको दाबी छ ।।







