सोनाम ल्होछारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुने
हेटौंडा-२८६२ तालो घोडावर्ग सोनाम ल्होछारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम २०८२ हुने भएको छ । हेटौंडा उपमहानगरपालिका–१३ स्थित तासीछोइलिङ गुम्बा परिसरमा माघ १० गते कार्यक्रमको आयोजना हुन लागेको बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । हेटौंडा–१३ का वडाअध्यक्ष पेम्बा लामाका अनुसार कार्यक्रममा विविध सांस्कृतिकपक्ष झल्काउने झाँकी प्रदर्शन सँगसँगै राष्ट्रिय तथा स्थानीय कलाकारको गायन तथा नृत्य प्रस्तुति प्रदर्शन गरिने भएको छ । कार्यक्रममा गायिका पूजा लामा र धिरेन लामालगायतको कलाकारको प्रस्तुति रहने कार्यक्रम संयोजक गुम्बा व्यवस्थापन समितिका अध्यक्ष उद्धवकुमार मोक्तानले बताए ।
मोक्तानका अनुसार कार्यक्रममा रैथानेबाली, मौलिक परम्परा झल्कने परिकारको स्टल राखिनेछ । आयोजकका अनुसार तामाङ समुदायको मौलिक भाषा भेषभूषा, संस्कार संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा ७ देखि ८ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । जसमा हेटौंडा उपमहानगरपालिका वडा कार्यालय र सांस्कृतिक तथा पर्यटन मन्त्रालय बागमती प्रदेशबाट प्राप्त हुने जनाइएको छ ।
कार्यक्रममा ५ देखि ६ हजार अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ । सोनाम ल्होसार गृह सांस्कृतिक कार्यक्रमको उद्घाटन हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले गर्ने जनाइएको छ । पत्रकार सम्मेलनमा कार्यक्रमका सहसंयोजक रमेश लुम्बा, युवा व्यवसायी गुण थिङलगायत समितिका सदस्यको उपस्थिति रहेको थियो ।







