इजाजत प्राप्त हातहतियार १५ दिनभित्र बुझाउन प्रशासनको आग्रह
हेटौंडा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले हातहतियार बुझाउन आग्रह गरेको छ ।व्यक्तिगत सुरक्षाका लागि स्थानीय प्रशासनसँग अनुमति लिएर राखिएका हतियार बुझाउन कार्यालयले सबैलाई आग्रह गरेको हो । कार्यालयले बुधबार सूचना जारी गर्दै व्यक्तिगतसुरक्षाका लागि राखिएका हातहतियार १५ दिनभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय वातावरणमा सम्पन्न गराउन सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै इजाजत प्राप्त हतियार बुझाउन भनिएको हो ।
अहिले बुझाइएका हतियार निर्वाचनकार्य सम्पन्न भएको १ महिनाभित्र अर्थात् आगामी चैत २० गते पश्चात् लगत कट्टा गरी सबैलाई फिर्ता गरिने उनले
बताए । तोकिएको समयमा हतियार नबुझाए, अटेर गरेमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने समेत सहायक प्रजिअ जोशीले बताए ।







