१२१ किलो चरेस सहित २ जना पक्राउ
हेटौंडा- मकवानपुरको थाहा नगरपालिका–१० टौखेलक्षेत्रबाट लागुऔषध चरेस सहित मकवानपुर प्रहरीले २ जनालाई पक्राउ गरेको छ । टौखेलबाट मार्खुतर्फ जाँदै गरेको अटोबाट १ सय २१ किलो चरेस फेला परेपछि उनीहरु पक्राउ परेका हुन् । लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङ र चित्लाङबाट खटिएको संयुक्त प्रहरीटोलीले टौखेलबाट मार्खुतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ह १५०७ नम्बरको अटो चेकजाँच गर्ने क्रममा अटोभित्र लुकाइछिपाइ ल्याइएको चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रहरीले १२ वटा रबरका डिब्बाभित्र राखिएको एक क्वीन्टल २१ किलो ४ सय ६६ ग्राम चरेस बरामद गरेको थियो । लागूऔषध चरेससहित अटोचालक थाहा नगरपालिका–४ रुप्सेका २९ वर्षीय घनश्याम बल तामाङ र मकवानपुरको कैलाश गाउँपालिका–५ का २१ वर्षीय सानुकान्छा थिङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई मकवानपुर जिल्ला अदालतबाट ६ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







