आचारसंहिता उल्लंघनलाई आयोग आफैँ अनुसन्धान र कारबाही गर्छः आयोग

साझाकुरा
२०८२ माघ ९, बिहीबार ११:५३

हेटौंडा- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई उजुरीका आधारमा र आफैँले अनुसन्धान गरेर पनि कारबाही गर्ने चेतावनी दिएको छ । आयोगले आफ्ना संयन्त्रबाट प्राप्त प्रतिवेदन तथा उजुरीका आधारमा आवश्यक अध्ययन गरी कानूनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने आयोगका सूचनाअधिकारी सुमन घिमिरेले बताएका छन् । घिमिरेले आयोगमा आएको उजुरीको आधारमा मात्रै नभएर आयोगले स्वअध्ययनबाट पनि आचारसंहिता विपरितका कार्य गर्नेलाई कारबाही गर्ने जानकारी दिए ।

निर्वाचन आचारसंहिता निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले सरोकारवाला सबैको सहमतिमा जारी गरिएको उनको भनाई छ ।
घिमिरेका अनुसार आचारसंहिताको पालना गराउने र उल्लंघन भएमा कारबाही गर्ने उद्देश्यले निर्वाचन क्षेत्र, जिल्ला र केन्द्रस्तरसम्म आयोगका अनुगमन संयन्त्र सक्रिय बनाइएको छ । निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेद्वार र मतदाता सबैले पालना गर्नुपर्ने उनले बताए । उनले उम्मेद्वारी मनोनयनका क्रममा मंगलवार केही आचारसंहिताका विपरितका कार्य भएको उल्लेख गर्नुहुदै ती कार्य आयोगको नोटिसमा रहेको बताए । उनले आचारसंहिता कार्यन्वयनका लागि आयोगले संयन्त्र बनाइसकेको जानकारी दिए ।

‘आचारसंहिता कार्यन्वयन नभएको अवस्थामा आचारसंहिता विपरितका गतिविधि भएको अवस्थामा त्यसलाई कसरी नियमित गर्ने भन्ने सम्वन्धमा आयोगले पहिले नै तयारी गरिसकेको छ । निर्वाचन क्षेत्रस्तर, जिल्लास्तर, केन्द्रस्तरसम्म निर्वाचन आयोगका संयन्त्र स्थापित भइसकेको अवस्था छ । उहाँहरुले दिएको रिर्पोटको आधारमा आयोगले अध्ययन गरेर त्यसलाई कुन किसिमको, कुन लेभलको कारबाही अगाडि बढाउनुपर्छ, त्यो गर्ने आयोगको तयारी छ, आयोगले त्यसरी नै गर्छ । जहाँसम्म हिजो (मंगलवार मनोनयनको बेला) को कुराहरु छन्, आयोगले आफ्ना संयन्त्रमार्फत यी विषयको जानकारी लिएको छ, उसलाई पनि थाहा छ ।’

सूचनाअधिकारी घिमिरेले भने, ‘आयोगले पनि यो कुरा अध्ययन गरिरहेको छ । केही उजुरी प्राप्त भए, त्यसकिसिमका भनेदेखि तीउजुरीका सम्बन्धमा पनि आयोगले थप कारबाही अगाडि बढाउँछ । त्यसले गर्दा यो दुईवटै तरिकाले निर्वाचन आचारसंहितालाई कार्यन्वयन हुन्छ । आफ्ना संयन्त्रमार्फत आएका रिर्पोटका आधारमा पनि एक्सनमा आयोग जान्छ, उजुरी आईसकेपछाडि त्यो उजुरीलाई पनि तत्काल कारबाही गर्नेगरी आयोग एक्सनमा जान्छ, यी दुबै तरिकाले निर्वाचन आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्न अगाडि बढिन्छ ।’

उत्साहपूर्वक ३ हजार ४८६ उम्मेदवारको मनोनयन दर्ता

प्रत्यक्षतर्फ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर ३ हजार ४ सय ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये ३ हजार ८९ जना पुरुष, ३ सय ९६ जना महिला तथा १ जना अन्य समूहबाट उम्मेदवार रहेको आयोगका सूचनाअधिकारी घिमिरेले जानकारी दिए । मंगलवार तोकिएको समयभित्र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको हो ।

राजनीतिक दल र उम्मेदवारले देखाएको संयमता र शान्तिपूर्ण वातावरणका कारण मनोनयन दर्ता कार्यक्रम सहजरुपमा सम्पन्न भएको घिमिरेले बताए । उनका अनुसार निर्वाचन घोषणा भएदेखि नै आयोगले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्दै आएको छ । मनोनयन दर्ताको दिन देखिएको वातावरणले फागुन २१ गते तोकिएकै मितिमा निर्वाचन हुनेमा आयोग विश्वस्त रहेको घिमिरेले बताए ।

उनले भने, ‘प्रतिनिधिसभा निर्वाचनका लागि ३ हजार ४ सय ८६ जना उम्मेद्वारले नाम दर्ता गर्नुभएको छ । त्यसमा ३ हजार ८९ जना पुरुष उम्मेद्वार हुनुहुन्छ भने ३ सय ९६ जना महिला उम्मेद्वार हुनुहुन्छ । १ जना चाहिँ अन्य समूहको उम्मेद्वारले आफ्नो नाम दर्ता गराउनुभएको छ । यो दर्ता प्रक्रियामा निर्वाचन आयोगले विगतदेखि नै अलिकति तयारीको व्यवस्थापन गरेको थियो । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यलयमा उम्मेद्वारले नाम गर्न पाउने व्यवस्था गरेको थियो । हिजोको वातावरण, उत्साह राजनितिक दलका उम्मेद्वारले देखाउनुभएको संयमता र शान्ति सुव्यवस्था हेर्दाखेरी साह्रै राम्रो वातवरणमा, शान्तिपूर्ण उम्मेद्वारको मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको छ ।’

सूचना अधिकारी घिमिरेले अगाडि भने–‘हामीले निर्वाचन घोषणा भएदेखि नै निर्वाचन आयोगले भन्दै आएको कुरा हो, हामी स्वच्छ, स्वतन्त्र, निष्पक्षरुपमा निर्वाचन सम्पन्न गर्छौं । तोकिएकै समयमा निर्वाचन सम्पन्न हुन्छ भनेर निर्वाचन आयोगले भनेको कुरालाई हिजो आम मतदातालगायत उम्मेद्वारले देखाउनुभएको संयमता र शान्तिपूर्ण स्थिति, त्यो कारणले अब निर्वाचन फागुन २१ गते यही तरिकाले सम्पन्न हुन्छ भन्नेमा आयोग विश्वस्त छ ।’

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार बुधवार उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको थियो । प्राप्त उजुरीको निर्वाचन अधिकृतको कार्यालयमा छानबीन गरी संविधान, कानून तथा निर्वाचनसम्बन्धी व्यवस्था अनुसार उम्मेदवारको योग्यता परीक्षण गरिने सूचनाअधिकारी घिमिरेले बताए । आगामी फागुन २१ गते हुने निर्वाचनको लागि देशभर मंगलवार उम्मेद्वारले मनोनयन दर्ता गराएका थिए । १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचन हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*