मकवानपुरमा ४४ जना उम्मेदवारको मनोनयन कायम
हेटौंडा-प्रदेश निर्वाचन कार्यालय हेटौंडाले प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरको दुबै क्षेत्रका उम्मेदवारको नामावली प्रकाशन गरेको छ ।मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरोधमा बुधबार उजुरी दिने कार्यतालिका रहेपनि मकवानपुरमा कुनै पनि उम्मेदवारविरुद्ध उजुरीपरेन । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा प्रत्यक्षतर्फ ४४ जनाले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन क्षेत्र नम्बर १ बाट १३ राजनीतिक दलका उम्मेदवार र १० जना स्वतन्त्र गरी कुल २३ जनाको उम्मेदवारी परेको थियो भने निर्वाचन क्षेत्र नम्बर २ बाट १६ राजनीतिक दलका उम्मेदवार र ५ जना स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दर्ता गराएका थिए । क्षेत्र नं. १ मा ५ जना महिला र १८ पुरुष एवम् क्षेत्र नं. २ मा २ जना महिला र १९ जना पुरुषले मनोनयन दर्ता गराएका हुन् ।
क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसबाट महालक्ष्मी उपाध्याय ‘डना’, नेकपा एमालेबाट रामेश्वर राना, नेपाली कम्युनिष्ट पार्टीबाट विजय गौतम तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपकबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका थिए ।राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश गौतम, श्रमसंस्कृति पार्टीबाट विद्या श्रेष्ठ, उज्यालो नेपाल पार्टीबाट सुरेन्द्र लामा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट तेजप्रसाद उप्रेती, नेपाल मजदुर किसान पार्टीबाट रञ्जना सुवाल, नेकपा माओवादीबाट महेश नेपाली, जनता समाजवादी पार्टीबाट रुपक लामा, एकल निर्वाचन चिन्हसहित जनता समाजवादी पार्टीबाट दीपक सिलवाल, नेशनल मंगोल अर्गनाइजेशनबाट युवराज स्याङतानले उम्मेदवारी दिएका थिए ।
अमर दंगाल, अमिकपरिवार, टीकाप्रसाद चौंलागाईं, प्रमिलाकुमारी खतिवडा, मीठु पुलामीमगर, राकेशकुमार शर्मा, राजकुमार खड्का, राजाराम बोगटी, शिला सुवेदी र ज्ञानसागर लामाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै, क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसबाट बुद्ध लामा, नेकपा एमालेबाट महेश वर्तौला र नेकपाबाट लवशेर विष्टले उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामबहादुर थोकर, श्रमसंस्कृति पार्टीबाट युनिश लामा स्याङतान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रशान्त उप्रेती, उज्यालो नेपाल पार्टीबाट प्रवीणकुमार स्याङतान, राष्ट्रिय जनमोर्चाबाट नीरबहादुर सिन्तान, प्रलोपा पार्टीबाट सन्तोष विष्ट, नेशनल मंगोल अर्गनाइजेशनबाट हीरालाल स्याङतान, नेपाल मजदुर किसान पार्टीबाट सरोज तामाङ, नेकपा माओवादीबाट राम घलान वाटर तथा संयुक्त नागरिक पार्टीबाट शुभराज प्रजाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, आमजनता पार्टीबाट सूर्य राई र जनता समाजवादीमाट छविलाल वाइबाले एकल चुनावचिन्ह लिएर उम्मेदवारी दिएका छन् । अमृत बल, कृष्णराम श्रेष्ठ, प्रतिक्षा बानियाँ, रमेश आचार्य र सीतामाया बल गरी ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उम्मेदवारको नाम फिर्ता लिने कार्यक्रम माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म रहेको छ । प्रदेश निर्वाचन अधिकृत हरिप्रसाद ढकालका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गतेदेखि दिउँसो ३ बजेसम्म र उम्मेदवारलाई निर्वाचन चिन्ह सोही दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म प्रदान गरिने छ । मतदान भने फागुन २१ ग्ते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म रहेको छ । प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरमा ३ लाख १५ हजारभन्दा बढी मतदाताले मतदान गर्नेछन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार मकवानपुर जिल्लामा कुल मतदाता संख्या ३ लाख १५ हजार ३३४ कायम रहेको हो ।







