मकवानपुरमा सवारी दुर्घटना, दुइ जनाको मृत्यु
हेटौंडा- कुलेखानी–काठमाडौं सडकखण्ड अन्तर्गत् मकवानपुरको इन्द्रसरोवर–२ सीमखोला पुल नजिक बिहीबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाहीबाट काठमाडौँतर्फ गइरहेको मधेस प्रदेश ०३–००१ च ६७२१ नम्बरको गाडी दुर्घटना हुँदा सर्लाहीको बरथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको हो । दुर्घटनामा सर्लाहीको वरथवा नगरपालिका–१ का २५ वर्षीय रामवली साह र १६ वर्षीय छोटे पासवानको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ । कुखुरा बोकेको गाडी दुर्घटना हुँदा ३ सय भन्दा बढी कुखुरा पनि मरेको प्रहरीले जानकारी दिएको छ । गाडीमा ५ सय भन्दा बढी कुखुरा रहेको र तीमध्य ३ सय बढी कुखुरा मरेका थिए ।
यसैगरी मकवानपुरको बकैया गाउँपालिका–११ आँपचौरस्थित कान्तिराजपथ सडकखण्डमा ट्रक र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ । जीतपुरभन्ज्याङबाट ठिंगनतर्फ जाँदै गरेको बा प्र ०३–००१ क ०९५२ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको म प्र ०३–०३९ प ५६४४ नम्बरको स्कुटर सडकको टर्निङमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवाननपुरले जानकारी दिएको छ ।दुर्घटनामा स्कुटरचालक पर्साको वीरगञ्ज महानगरपालिका–१० पानीट्यांकी घरभएका ५० वर्षीय अनुराग श्रेष्ठ गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौंडा अस्पताल पठाएको र चिकित्सकले मृतघोषणा गरेको मकवानपुरका प्रहरी नायवउपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । मृतकको शव हाल हेटौंडा अस्पतालमै राखिएको छ । प्रहरीकाअनुसार ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।







