घरेलु उत्पादन प्रवद्र्धन प्रदर्शनी मेला हुने

साझाकुरा
२०८२ माघ १०, शुक्रबार १३:१२

हेटौंडा-हेटौंडा उपमहानगरपालिका १० नं. वडा कार्यालयको आयोजनामा यही माघ १६ र १७ गते तेस्रो घरेलु उत्पादन प्रवद्र्धन प्रदर्शनी, नृत्य प्रतियोगिता तथा शैक्षिक प्रदर्शनी मेला आयोजना हुने भएको छ ।हेटौंडा–१० स्थित बसपार्कमा आयोजना हुने प्रदर्शनीमा हेटौंडा उपमहानगरका १९ वटै वडामा स्थानीयस्तरमा उत्पादन भएका घरेलु उत्पादनको प्रदर्शनी तथा बिक्री गरिनेछ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत् वडा कार्यालयले यो जानकारी दिएको हो । स्थानीय उत्पादनको प्रवद्र्धन, बजारीकरण तथा रोजगार सृजनामा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको वडाअध्यक्ष फुर्वादोर्जे लामाले जानकारी दिएका छन् । उनका अनुसार १९ वटै वडाका किसान तथा व्यवसायीले उत्पादन तथा निर्माण गरेका सामग्री प्रदर्शनीमा राखिनेछन् । प्रदर्शनीका लागि घरेलु उत्पादनका एक सयवटा स्टल रहनेछन् ।

स्टल राख्ने उत्पादक तथा व्यवसायीका लागि यातायात सुविधा उपलब्ध गराइने र स्टल निःशुल्क प्रदान गरिने वडाअध्यक्ष लामाले बताए । उत्कृष्ट प्रदर्शनी गर्ने सहभागीलाई पुरस्कृत पनि गरिनेछ । मौलिक सांस्कृतिक नृत्य प्रतियोगितामा पनि १९ वटै वडाको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ३५ हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । सान्त्वना पुरस्कारस्वरुप चारजनालाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने जानकारी दिइएको छ ।

प्रदर्शनीअवधिमा मौलिक खानाका परिकारका स्टल, ज्येष्ठ नागरिक सम्मान, वडाभित्रका संस्थागत तथा सामुदायिक विद्यालयबाट एसईई र माध्यमिक तहमा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थी सम्मान, राष्ट्रिय खेलाडी सम्मान, अटोमेकानिक मिस्त्री सम्मान, उद्यमशीलता सम्मान, कृषक सम्मानलगायत विभिन्न विधामा सम्मान कार्यक्रम आयोजना गरिने वडा कार्यालयले जनाएको छ । कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्न ६ वटा उपसमिति गठन गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*