सिविन नेपाल मकवानपुरद्वारा सामाजिक परीक्षण
हेटौंडा-सिविन नेपाल मकवानपुरको आयोजनामा सामाजिक परीक्षण भएको छ । सिविन नेपालका अध्यक्ष माधव प्रधानको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान प्रमुख अतिथिकारुपमा उपस्थित थिए ।कार्यक्रममा अधिवक्ता तथा सामाजिक परीक्षणका सहजकर्ता मनप्रसाद भट्टराईले सामाजिक परीक्षणको अवधारणा, परिभाषा, उद्देश्य, प्रकार, सैद्धान्तिक आधार, विकासक्रम, लागू हुने क्षेत्र, आधारभूत सिद्धान्त, प्रक्रिया, प्रयोग हुने विधि, संकलन गरिने सूचनाहरु, प्रतिवेदनका अंश, सामाजिक परीक्षणका फाइदा, नेपालमा देखिएका चुनौती तथा सफल परीक्षणका सर्तबारे विस्तृत जानकारी गराएका थिए ।
सामाजिक परीक्षण कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामीमगर, हेटौंडा उपमहानगरप्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने, हेटौंडा–१९ का वडाअध्यक्ष नरनाथ सुवेदी, हेटौंडा–११ की वडाअध्यक्ष जुना दाहाल, मनहरी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष शिव खनाल, गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, हेटौंडा उपमहानगर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाप्रमुख विष्णुकुमारी लामिछाने, हेटौंडा–२ का वडासदस्य सुरज बर्तौलालगायत जनप्रतिनिधि, संघसंस्था प्रतिनिधि, सहयोग प्राप्त परिवार, विद्यार्थी तथा सरोकारवालाको उपस्थिति थियो ।
कार्यक्रममा सिविन मकवानपुरका प्रवन्धक झबिन्द्र ज्ञवालीले संस्थाले सञ्चालन गरिरहेका परियोजनाबारे प्रस्तुतीकरण गर्दै शिक्षा तथा सामाजिक कार्यमार्फत् बालश्रम न्यूनीकरण, बालसंरक्षण, बालयौन दुरुपयोगविरुद्धका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । उनले मकवानपुरका २५० बालबालिकालाई छात्रवृत्तिमार्फत् अध्ययन गराइएको, पाँच परिवारलाई आयआर्जन सहयोगस्वरुप बाख्रा तथा लैनो भैँसी वितरण गरिएको बताए । मनहरी गाउँपालिका १, ५ र ७ तथा हेटौंडा उपमहानगरपालिका १ र १० मा विभिन्न आयआर्जन कार्यक्रम सञ्चालन गरिएको जानकारी उनले दिए ।
तीन परिवारलाई जीवन उपयोगी सीपमूलक तालिम प्रदान गरिएको, मनहरी–१ मा चार महिनाको मोवाइल रिपेयरिङ तालिम, हेटौंडा–१ र १९ मा दुई जनालाई सवारीचालक अनुमतिपत्र परीक्षाका लागि सहयोग गरिएको विवरण प्रस्तुत गरिएको थियो । परियोजना व्यवस्थापक कृष्ण तामाङले परियोजनाका लागि विनियोजित बजेट र खर्च विवरण सार्वजनिक गरेका थिए । प्रस्तुतीकरण पछि भएको खुला छलफलमा सहभागीले सिविनका कार्यक्रम प्रभावकारी रहेको बताएका थिए ।
एक शिक्षकले विद्यालय सुधारका क्रममा बाख्राको खोरजस्तै अवस्थाबाट विद्यालयलाई व्यवस्थित र राम्रो बनाइएको उदाहरण प्रस्तुत गरे । सहयोग प्राप्त परिवारले बालबालिकाको शिक्षा र आर्थिक सशक्तीकरणमा सिविनले गरेको योगदानले जीवनस्तरमा सकारात्मक परिवर्तन आएको बताए । जनप्रतिनिधिले स्थानीय सरकारले गर्न नसकेको काम गैरसरकारी संस्थामार्फत् सिविनले प्रभावकारी रुपमा गरेको भन्दै प्रशंसा गरे । सहभागीले आगामी दिनमा अझै थप परियोजना सञ्चालन गर्न आग्रह गरेका थिए ।







