सिआन र मदन भण्डारी प्रतिष्ठानबीच समझदारीपत्रमा हस्ताक्षर
हेटौंडा-सिआन पुर्नस्थापना केन्द्र र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच शारीरिक तथा मानसिक स्वास्थ्य प्रवद्र्धन, लागूऔषध तथा लागूपदार्थ दुव्र्यसनबाट पुनःस्थापना, तथा सार्वजनिक स्वास्थ्य र शिक्षाको स्तर अभिवृद्धि गर्ने साझा उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ ।बिहिबार जिल्ला प्रशासन कार्यालय, मकवानपुरको सभाहलमा आयोजित औपचारिक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको रोहबरमा सम्झौता भएको हो ।
समझदारीअनुसार, दुवै संस्थाले आपसी चासोका क्षेत्रमा सहकार्य गर्दै सामाजिक उत्तरदायित्वका आधारमा संयुक्त कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । समझदारीपत्रअनुसार सहकार्यका प्रमुख उद्देश्यमा लागूऔषध तथा लागूपदार्थ दुव्र्यसन पुनस्र्थापना, मानसिक स्वास्थ्य सहयोग तथा परामर्श सेवा, सार्वजनिक स्वास्थ्य सम्बन्धी जनचेतना तथा शैक्षिक कार्यक्रम सञ्चालन, क्लिनिकल सहयोग तथा इन्टर्नशिप (प्रशिक्षण) अवसर प्रदान, क्षमता अभिवृद्धि तथा तालिम सञ्चालन, संयुक्त अनुसन्धान तथा प्रकाशन, संकट हस्तक्षेप तथा समुदायस्तरीय पहुँच विस्तार, साथै नीति पैरवी तथा रणनीति विकासलगायत विषय समेटिएका छन् ।
कार्यक्रममा हस्ताक्षरकर्ता पहिलोपक्ष सिआन पुनस्र्थापना केन्द्रको तर्फबाट कार्यकारी निर्देशक शौजन डिसी र दोस्रोपक्ष मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको तर्फबाट उपकुलपति डा. प्रदीप ज्ञवाली रहेका छन् । समझदारीपत्र हस्ताक्षर कार्यक्रममा थाहा नगरपालिका उपप्रमुख भरत गोपाली, गैरसरकारी संस्था महासंघ मकवानपुरी अध्यक्ष रमिला सापकोटा, राष्ट्रिय मानवअधिकार आयोग, नागरिक समाजका अगुवा तथा विभिन्न सरकारी तथा गैरसरकारी निकाय, जिल्लाका पुनस्र्थापना केन्द्रको प्रतिनिधिको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई वक्ताहरुले लागूऔषध दुव्र्यसन तथा मानसिक स्वास्थ्य समस्या बढ्दो चुनौतीको रुपमा देखापरिरहेको वर्तमान अवस्थामा सरकारी शैक्षिक प्रतिष्ठान र समुदायस्तरमा कार्यरत पुनस्र्थापना केन्द्रबीचको सहकार्य अत्यन्तै समयसापेक्ष र प्रभावकारी हुने विश्वास व्यक्त गरे । समझदारीले अनुसन्धान, सेवाप्रवाह र जनचेतना मार्फत् समुदायमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।







