मकवानपुरमा कसैले पनि उम्मेदवारी फिर्ता लिएनन्
हेटौंडा- प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका ४४ जना उम्मेदवारले चुनावचिन्ह पाएका छन् ।निर्वाचन क्षेत्र नम्बर १ बाट १३ राजनीतिक दलका उम्मेदवार र १० जना स्वतन्त्र गरी कुल २३ जनाको उम्मेदवारी परेको थियो भने निर्वाचन क्षेत्र नम्बर २ बाट १६राजनीतिक दलका उम्मेदवार र ५ जना स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दर्ता गराएका थिए । मनोनयन दर्ता गराएका ४४ जना उम्मेदवारमध्ये कसैले पनि उम्मेदवारी फिर्ता नलिएको प्रदेश निर्वाचन कार्यालय, हेटौंडाले जानकारी दिएको छ । शुक्रबार दिउँसो १ बजेसम्म उम्मेद्वारी फिर्ताको समय भएपनि मकवानपुरमा कुनैपनि उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन् ।
क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका नेपाली काँग्रेसकी महालक्ष्मी उपाध्याय ‘डना’ ले रुख, नेकपा एमालेका रामेश्वर रानाले सूर्य, नेपाली कम्युनिष्ट पार्टीका विजय गौतमले पाँचकुने तारा, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले हलो, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतमले घण्टी पाएका छन् । त्यसैगरी श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठले माटो, उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले बलिरहेको बिजुलीको चिम, प्रगतिशील लोकतान्त्रिक पार्टीका तेजप्रसाद उप्रेतीले आँखा, नेपाल मजदुर किसान पार्टीकी रञ्जना सुवालले मादल, नेकपा माओवादीबाट महेश नेपालीले गुलाफ, जनता समाजवादी पार्टीका रुपक लामाले छाता, जनता समाजवादी पार्टीका दीपक सिलवालले जाँतो, नेशनल मंगोल अर्गनाइजेशनका युवराज स्याङतानले भाले चुनावचिन्ह पाएका छन् ।
स्वतन्त्र उम्मेदवारी दिएका अमर दंगालले खसीको टाउको, अमिक परियारले काउली, टीकाप्रसाद चौंलागाईंले चेस गोटी, प्रमिलाकुमारी खतिवडाले ठेकी, मठु पुलामी मगरले फिरफिरे, राकेशकुमार शर्माले आँप, राजकुमार खड्काले प्रेसर कुकर, राजाराम बोगटीले जीप, शिला सुवेदीले झोला र ज्ञानसागर लामाले कैँची चुनावचिह्न पाएका छन् । यस्तै, क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका नेपाली काँग्रेसका बुद्ध लामाले रुख, नेकपा एमालेका महेश बर्तौलाले सूर्य, नेकपाका लवशेर विष्टले पाँचकुने तारा, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामबहादुर थोकरले हलो, श्रम संस्कृति पार्टीका युनिश लामा स्याङतानले माटो र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशान्त उप्रेतीले घण्टी चुनावचिह्न पाए ।
यसैगरी उज्यालो पार्टी नेपालका प्रवीणकुमार स्याङतानले चिम, राष्ट्रिय जनमोर्चाका नीरबहादुर सिन्तानले गिलास, प्रलोपा पार्टीका सन्तोष विष्टले आँखा, नेशनल मंगोल अर्गनाइजेशनका हीरालाल स्याङतानले भाले, नेकपा माओवादीबाट राम घलान वाटरले गुलाफ तथा संयुक्त नागरिक पार्टीबाट शुभराज प्रजाले गितार चुनावचिह्न पाए । यसैगरी आमजनता पार्टीका सूर्य राईले मोवाइल र जनता समाजवादी पार्टीका छविलाल वाइबाले जाँतो चिन्ह पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवारी दिएका अमृत बलले त्रिभुज, कृष्णाराम श्रेष्ठले जीप, प्रतिक्षा बानियाँले ठेकी, रमेश आचार्यले क्यामरा र सीतामाया बलले ट्रफी चिह्न पाए ।
मकवानपुरका उम्मेदवारले ३३ लाख खर्च गर्न पाउने
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा उम्मेदवारका लागि खर्चको हद निर्धारण गरिएको छ । निर्वाचन आयोग नेपालले दिएको जानकारी अनुसार मकवानपुरको निर्वाचन क्षेत्र नं. १ र निर्वाचन क्षेत्र नं. २ का लागि अधिकतम ३३ लाख रुपैयाँ खर्च गर्नसक्ने उल्लेख छ । आयोगले तोकेको खर्चको सीमाभित्र रहेर निर्वाचनमा उम्मेदवारले खर्च गर्नुपर्ने उल्लेख छ ।मकवानपुरका दुई निर्वाचन क्षेत्रबाट ४४ जना उम्मेदवार छन् । निर्वाचन क्षेत्र नम्बर १ मा २३ जना र क्षेत्र नम्बर २ मा २१ जना उम्मेदवार छन् । क्षेत्र नम्बर १ बाट विभिन्न दलबाट १३ जना र १० जनाले स्वतन्त्र तथा क्षेत्र नम्बर २ बाट विभिन्न दलबाट १६ जना र पाँचजना स्वतन्त्र गरी २१ जना उम्मेदवार छन् ।
मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा हेटौंडा उपमहानगरका १५ वटा वडा, मकवानपुरगढीका ४ वटा वडा, बागमती र बकैया गाउँपालिका पर्छन् । क्षेत्र नम्बर २ मा हेटौंडा उपमहानगरका १, ३, ११ र १९ नम्बर वडा, मकवानपुरगढीका ५, ६, ७ र ८ नम्बर वडासहित थाहा नगरपालिका, मनहरी, राक्सिराङ, कैलाश, इन्द्रसरोवर र भीमफेदी गाउँपालिका पर्छन् ।
मकवानपुरमा तीन लाख १५ हजार ३३४ जना मतदाता रहेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४३५ र क्षेत्र नम्बर दुईमा एक लाख ५६ हजार ८९९ मतदाता छन् । महिला एकलाख ५३ हजार ३७६, पुरुष एकलाख ६१ हजार ९५३ पुरुष र पाँच जना अन्य मतदाता छन् । १०२ वटा वडा रहेको मकवानपुरमा १६७ मतदानस्थल र ३७४ मतदान केन्द्र छन् ।







