१ करोड ५० लाख समानुपातिकतर्फको मतपत्र छापियो

४९ जनाले फिर्ता लिए उम्मेदवारी
साझाकुरा
२०८२ माघ ११, शनिबार ११:३७

हेटौंडा- आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।शुक्रवार १ बजेसम्म उम्मेदवारी फिर्ता लिन पाउने अधिकारको सदुपयोग गर्दै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ४९ जनाले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए । उनका अनुसार मनोनयनपत्र दर्तादेखि दाबी, विरोध, नामावली प्रकाशन र उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम देशभर शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । समानुपातिक निर्वाचन प्रणालीको कार्यक्रम पनि सँगै अघि बढाएको उनले जानकारी दिए ।

समानुपातिक उम्मेदवारको विरोधमा ५ गतेदेखि माघ १० गतेसम्म दाबी विरोध गर्न सकिने र १० गतेपछि त्यसउपर छानवीन गरी माघको २० गते अन्तिम बन्दसूचि प्रकाशन हुने बताए । ‘देशभर जम्मा ४९ जना उम्मेदवारले आफनो उम्मेदवारी फिर्ता लिनुभएको छ । मनोनयनपत्र दर्तादेखि दाबी, विरोध, नामावली प्रकाशन र उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम देशभर शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । समानुपातिक निर्वाचन प्रणालीको कार्यक्रम पनि सँगै अघि बढाएका छौँ । समानुपातिक उम्मेदवारको विरोधमा ५ गतेदेखि माघ १० गतेसम्म दाबी विरोध गर्न सकिन्छ । १० गतेपछि त्यसउपर छानवीन गरी माघ २० गते अन्तिम बन्दसूचि प्रकाशन हुनेछ । त्यसपछि मतदानको काम मात्रै बाँकी रहनेछ’ प्रवक्ता भट्टराईले बताए ।

प्रवक्ता भट्टराईले बन्दसूचि पेश भइसकेपछि बन्दसूचिमा नाम पेश गरेका जम्मा ५८ वटा निर्वाचन चिन्हलाई कायम गरेर निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको मतपत्र छपाईको काम सुरु गरिसकेको बताए । उनका अनुसार देशभरको मतदाता संख्या १ करोड ८९ लाख रहेको र त्यसमा ७ प्रतिशत बढी मतपत्र छाप्ने गरी आयोगले निर्णय भएकाले समानुपातिक तर्फको १ करोड ५० लाख मतपत्र छपाई भइसकेको छ । बाँकी ५० लाख मतपत्र दुई दिनभित्र सकिने बताए । प्रत्यक्षतर्फको निर्वाचन चिन्ह प्रदान गरिसकेपछि त्यसको मतपत्र डिजाइन गरेर मतपत्र छपाईको काम सुरु हुने उनले बताए । मतदाता नामावलीको काम पनि निर्वाचन आयोगमा भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*