कृषकका लागि पालुङमा आलुखेती तालिम सुरु
हेटौंडा-आलुखेतीका लागि देशमै प्रख्यात थाहा नगरपालिकाको कृषकको क्षमता अभिवृद्धि र आलु उत्पादन बढाउने उद्देश्यले पालुङमा आलुखेतीसम्बन्धी ३ दिने तालिम सुरु भएको छ । थाहाको थानाबजारस्थित पालुङ बहुउद्देश्यीय सहकारीको सभाहलमा तालिम सुरु भएको हो । विङयुथको आयोजनामा सुरु गरिएको तालिममा राष्ट्रिय आलु तथा तरकारी बाली विकास केन्द्र, कीर्तिपुरको प्राविधिक सहयोग रहेको छ भने ओएनजिडी–एफएनइएलले सपोर्ट गरेको छ । बिङयुथका अध्यक्ष वसन्त कार्कीको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन समारोहमा राष्ट्रिय आलु तथा तरकारी बाली विकास केन्द्र प्रमुख पदम अधिकारीको प्रमुख आतिथ्यता रहेको हो ।
तालिममा आलु विकास केन्द्रका प्रशिक्षक ज्ञानु थापामगरले सहजीकरण गरेकी हुन् । विङयुथका फाइनान्सियल अफिसर पवनसिंह बस्नेत, थाहा नगरपालिका कृषि शाखाप्रमुख संजय तिवारी, सामाजिक विकास शाखाप्रमुख अनिल लामिछानेको उपस्थिति रहेको थियो । तालिम ११ गतेसम्म सञ्चालन हुने विङयुथकी कार्यक्रम संयोजक मनिषा बस्नेतले जानकारी दिइन् । कृषकमा रहेको आलुखेतीसम्बन्धी अनभिज्ञतालाई चिर्दै उत्पादन वृद्धि गर्ने उद्देश्यले तालिम सुरु गरिएको आयोजकले जनाएको छ ।
तीन दिनसम्म चल्ने तालिममा जग्गा छनोटदेखि हावापानी अनुसारको बीउ छनोट, खाने आलु र बीउ आलुको भण्डारण तथा बजारीकरणसम्मको योजनाबारे कृषकलाई व्यावहारिक ज्ञान प्रदान गरिने कार्यक्रम संयोजक बस्नेतले बताइन् । तालिममा नगरपालिका भित्रका १२ वडाका २२ वटा कृषि समूहको प्रतिनिधित्व हुने गरी कृषकको सहभागिता रहेको छ ।







